काठमाडौँ, ९ असार । नेपालका उमाविहरुमा अब जापानी भाषा पढाइने भएको छ ।
धेरै मानिस नेपालबाट जापान पढ्न जाने गरेको वर्तमान परिस्थितिमा काठमाडौँको बाफलमा रहेको ग्रिनफिल्ड नेसनल उमाविले पहिलो पटक उच्चमाध्यामिक शिक्षा परिषद्बाट स्वीकृति लिएर सो भाषा पढाउन लागेको हो ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य खड्गबहादुर बस्नेतले जापान र नेपालको सम्बन्ध धेरै पुरानो रहेको र धेरै नेपाली उच्च शिक्षाका लागि जापान जाने गरेको वर्तमान परिस्थितिमा यसले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
“विश्वभाषा क्याम्पसले औपचारिक शिक्षा नदिई अनौपचारिक शिक्षा प्रदान गरेकाले हामीले यो शिक्षालाई औपचारिक शिक्षा दिन सम्बन्धन लिएर सञ्चालन गर्न लागेका हौँ”, बस्नेतले भन्नुभयो । उहाँले कक्षा ११ र १२ मा १०० - १०० पूर्णाङ्कको जापानी भाषा राखेको र यसले जापानी पर्यटकलाई नेपालमा आएका बेला समस्या नपर्ने जिकिर गर्नुभयो ।
उहाँले जापानी भाषा पढाउने मानिसको अभाव हुँदै गएको वर्तमान परिस्थितिमा यो शिक्षाले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।