शिक्षकको कुटाइबाट एक छात्रा सिकिस्त भएकी छन् । झोतास्थित भैरवनाथ उमाविमा ८ कक्षा अध्ययनरत छात्रा दीपा पार्कीलाई विद्यालयका शिक्षक धु्रव शाहीले पिट्दा सिकिस्त भएकी हुन् । उनको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्थामा सुधार भइरहेको दीपाका दाजु इन्द्रले बताए ।
कक्षामा हल्ला गरेको भन्दै शिक्षक शाहीले कपाल लुछेर तालुमा एक मुड्की हानेपछि दीपा बेहोस भएकी थिइन् । शिक्षकले मुड्की हान्दा टाउको बेन्चमा ठोकिएको र त्यसपछि बेहोस भएको दीपाका सहपाठीले जानकारी दिएको दाजु इन्द्रको भनाइ छ । बेहोस भएको केही बेरपछि शिक्षक शाहीले ‘बेहोस भएको स्वाङ पार्छेस्’ भनेर फेरि अर्को मुड्की हानेको इन्द्रले बताए ।
दीपाको टाउकोमा नीलडाम छन् । छात्रा बेहोस भएपछि विद्यालयले नै तत्काल गाडी रिजर्व गरेर उपचारका लागि पठाएको थियो । सहयोगका लागि विद्यालयकै अर्का शिक्षक विनोद थापालाई पनि सँगै पठाएको छ । छात्राका दाजु र आमा पनि उपचारका लागि अत्तरिया गएका छन् ।
विद्यालयले शिक्षकको बचाउ गर्दै छात्रा आफैं बेहोस भएको र पहिले पनि बेहोस हुने गरेको जनाएको छ । ‘दीपाको पहिले नै टाउकोमा चोट लागेको रहेछ, त्यैही भएर उनी पहिले पनि बेहोस हुने गर्थिन्,’ प्राचार्य गणेश बोहराले भने, ‘खेल्ने क्रममा बेहोस भएकी हुन् । कुनै शिक्षकले पिटेका छैनन् ।
यो हल्ला मात्र हो ।’ तर, छात्राका दाजु इन्द्रले शिक्षककै कुटाइबाट आफ्नी बहिनी बेहोस भएको बताए । ‘पहिले टाउकोमा कुनै पनि चोट थिएन । कहिल्यै बेहोस भएकी थिइनन्,’ उनले भने, ‘विद्यालयले उपचारमा लागेको सबै खर्च बेहोर्ने भनेको छ । थापा सरलाई विद्यालयले नै पठाएको हो ।’