भक्तपुर, २४ असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले एसएलसी उत्तीर्ण विद्यार्थीलाई प्राविधिक विषयमा भर्ना हुन मापदण्ड परिवर्तन गरेको छ ।
सिटिइभिटी राष्ट्रिय पाठ्यक्रम बोर्डको आज बसेको बैठकले भर्ना मापदण्ड परिवर्तन गरीे प्राविधिक विषयको डिप्लोमा कोर्समा भर्ना हुन यसअघि तोकेको मापदण्ड परिवर्तन गरेको हो ।
सिटिइभिटीले एसएलसीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा "डी प्लस" ल्याउने विद्यार्थीले समेत डिप्लोमा कोर्समा भर्ना हुन पाउने व्यवस्था गरेको सिटिइभिटीका सदस्य - सचिव डा रामहरि लामिछानेले जानकारी दिनुभयो ।
यसअघि डिप्लोमा तहको सबै विषय अध्ययनका लागि अङ्ग्रेजी, गणित र विज्ञान विषयमा "सी ग्रेड" ल्याएको हुनुपर्ने व्यवस्था गरेकामा अहिले यो परिवर्तन गरेको हो । सिटिइभिटीले स्वास्थ्य विषयको डिप्लोमा कोर्सका लागि जिपिए कम्तीमा दुई, अङ्ग्रेजी, गणित र विज्ञानमा "सी" ल्याएको हुनुपर्ने व्यवस्था भने यथावत् राखेको छ ।
इन्जिनियरिङतर्फ डिप्लोमा पढ्न अङ्ग्रेजीमा "डी प्लस", विज्ञान र गणितमा "सी" भए पुग्ने आजको बैठकले निर्णय गरेको लामिछानेले जानकारी दिनुभयो ।
कृषि र वनमा डिप्लोमा कोर्स पढ्नको लागि अङ्ग्रेजी, गणित र विज्ञानमध्ये दुई वटामा "सी" र एउटामा "डी प्लस" भए पनि भर्ना हुन पाउने र होटल म्यानेजमेन्ट, उद्यमशीलता विकास र सोसल वर्कजस्ता विषयमा डिप्लोमा कोर्सका लागि अङ्ग्रेजी, गणित र विज्ञानमा "डी प्लस" भए पनि भर्ना पाइने व्यवस्था गरेको सदस्य - सचिव लामिछानेले जानकारी दिनुभयो ।