काठमाडौँ, १३ पुस । सरकारले आगामी शैक्षिक सत्रदेखि सूचनाको हकसम्बन्धी नयाँ पाठ्यक्रम पढाइने भएको छ ।राष्ट्रिय सूचना आयोगको पहलमा तयार गरिएको पाठ्यक्रमसहित ऐेच्छिक विषयका रुपमा आगामी शैक्षिक सत्रदेखि मुलुकभर कक्षा ६देखि उक्त पाठ्यक्रम पढाउन लागिएको हो ।
आयोगका आयुक्त यशोदा तिमिन्सिनाका अनुसार अगामी शैक्षिक सत्रदेखि पढाई हुने सूचनाको हक विषय पढ्ने विद्यार्थीलाई छात्रवृद्धि दिने तयारी आयोगले गरेको छ ।सामुदायिक रेडियो प्रसारक सङ्घ(एकोयाव)ले आयोजना गरेको गोष्ठीमा उहाँले सबैलाई सूचनाको पहुँच भएपछि नागरिक आर्थिक तथा अन्य तवरले सबल हुने बताउँदै त्यसका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
गोष्ठीमा नागरिक राष्ट्रिय दैनिकका सम्पादक गुणराज लुईंटेलले सार्वजनिक वित्तका विषयका सकारात्मक समाचारलाई प्राथमिकता दिँदा समाजको सशक्तीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।अर्थशास्त्री गोपाल तिवारीले वित्तीय अनुशासनलाई कायम राख्दै आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिँदै त्यसका लागि सञ्चार माध्यमको समाचार कक्षलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो।
एकोयावका कार्यकारी निर्देशक डा आरसी लामिछाने पत्रकारले उठाएका विषयले आर्थिक एवम् सामाजिक विकासमा सहयोग पुग्ने भएकाले पत्रकारलाई सक्षम बनाउनुपर्ने बताउनुभयो ।आज सम्पन्न गोष्ठीमा ३० जनाभन्दा बढी आर्थिक एवम् सामाजिक क्षेत्रमा समाचार लेख्दै आएका पत्रकारको सहभागीता थियो ।