प्राविधिक अध्ययनप्रति विद्यार्थी आकर्षित

04 December 2016 Source: RSS News

पाल्पा, १९ मङ्सिर । ग्रामीण क्षेत्रका विद्यालयमा प्राविधिक विषयका कक्षा सञ्चालन हुन थालेसँगै विद्यार्थी प्राविधिक अध्ययनप्रति आकर्षित भएका छन् ।कक्षा ९ देखि प्राविधिक विषय अध्ययनका लागि बाहिरी जिल्लाका विद्यार्थी यहाँ अहिले अध्ययन गर्नेहरु बढ्दैछन् । छिटो रोजगारी पाउने उद्देश्यका साथ प्राविधिक विषय गर्र्न जिल्ला बाहिरदेखि पाल्पा आउने विद्यार्थीको चाप बढेको हो ।

प्राविधिक विषय अन्तर्गत, कृषिबाली विज्ञानको अध्ययन पाल्पाका ग्रामीण भेगका विद्यालयमा सञ्चालन गर्ने क्रम बर्सेनि बढेको हो । स्वास्थ्य, कम्प्युटर, कृषि, पशु, इन्जिनियरिङ, नापी जस्ता प्राविधिक विषय यहाँ अध्ययन हुन्छ ।पहिलो वर्षको कक्षामा ४० र दोसो वर्षको कक्षामा ४० जनाले अध्ययन गर्छन् । कृषिबाली विज्ञानका कक्षा ग्रामीण भेगका विद्यालयमा मात्र सञ्चालित छन् ।

छहरा गाविसस्थित नवदीप माविमा कृषिबाली विज्ञान अध्ययन गर्नका लागि रोल्पा, रुकुम, जाजरकोट, गोरखालगायत जिल्लाका विद्यार्थीले अध्ययन गर्दै आएको अध्यक्ष श्रीकृष्ण आत्रेयले बताउनुभयो ।

पालुङमैनादी गासिवस्थित प्रभात माविमा कृषिबाली विज्ञान विषय सञ्चालनमा आएपछि पाल्पासहित रुकुम, रोल्पा, सल्यान, गुल्मी, अर्घाखाँचीलगायत जिल्लाका ४० विद्यार्थीले अध्ययन गर्ने अवसर पाएको विद्यालयका प्रअ रमेश भट्टराईले बताउनुभयो ।विद्यालयका सल्लाहकार समितिका अध्यक्ष डुलबहादुर कुँवरले कृषि विषयको अध्ययनले रोजगारीका अवसर प्राप्त हुने र देशलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

More News