धनगढी, ११ कात्तिक । रुख कटानीको आदेशपछि कैलाली जिल्लाको साविक गेटा गाविस (हाल अत्तरिया नपा)मा मेडिकल कलेज निर्माणसम्बन्धी पूर्वाधारको निर्माणको बाटो खुलेको छ ।
कलेजको भोगाधिकारमा रहेको जग्गाका रुख वन मन्त्रालयले यही कात्तिकबाट कटान गर्ने आदेश दिएपछि रुख कटानको काम सुरु भएको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताउनुभयो ।
यसअघिसम्म रुख कटानको आदेश नहुँदा भौतिक पूर्वाधार निर्माणसम्बन्धी काम अघि बढ्न सकेको थिएन । यद्यपि सरकारले छुट्याएको ५१.८ हेक्टर क्षेत्रफलको जग्गा कलेजको भोगाधिकारमा आएपछि उक्त जग्गाको तारबार, नक्साङ्कनलगायतका काम पूरा गरिएको छ ।
उक्त जग्गामा रहेका ४५३ वटा रुख काट्ने आदेश दिएसँगै भौतिक पूर्वाधारको काम अगाडि बढाउन बाटो खुलेको हो । वातावरण प्रभाव मूल्याङ्कन (इआइए) हुन नसक्दा रुख कटानीको आदेश पनि ढिलो गरी आएको बताइएको छ ।
“मेडिकल कलेज निर्माण क्षेत्रमा रुख काट्ने काम सुरु भइसकेको छ, समितिका कार्यकारी निर्देशक पुजाराले भन्नुभयो – जग्गा पूरै खाली भएपछि तत्काल ३०० श्ययाको अस्पताल र कलेज भवनको निर्माण अघि बढाउन प्रक्रिया सुरु भइसकेको छ ।”
सार्वजनिक खरिद ऐन नियमावलीमा सरकारले संशोधन गरेको र नियमावली ननिस्किसकेकाले अस्पताल र कलेज भवनको निर्माणको लागि ठेक्का दिने काममा केही ढिलाइ भइरहेको उहाँले बताउनुभयो ।
सरकारले गेटा मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि चालु आवमा रु ५० करोड विनियोजन गरेको छ ।
विसं २०६६मा तत्कालीन सरकारले गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो ।