मलेखु (धादिङ), ५ कात्तिक । नर्वे राजदूतावासले उत्तरी धादिङस्थित सेमजोङ गाविसका ६ वटा विद्यालय भवन निर्माण गर्ने भएको छ ।
जर्मन विकास सहयोग कार्यक्रम (जिआइजेड) मार्फत सो विद्यालय भवन निर्माण गर्ने भएको हो ।
गत वर्षको भूकम्पले सेमजोङ गाविसका सबै विद्यालय भत्केका कारण अस्थायी केन्द्रमा बसेर एउटै कक्षामा विद्यार्थीहरु पढ्न बाध्य भएकाले विद्यालय भवन निर्माण गर्न सहयोग उपलब्ध गराइएको जिआइजेडका लेखमणि ढकालले बताउनुभयो ।
भवन निर्माण हुने विद्यालयमा शान्ति प्रावि, बुद्ध प्रावि, इन्द्रियादेबी प्रावि, थला प्रावि, गैरा निमावि र थला मावि रहेका छन् ।
नर्वेका राजदूत श्येल टोर्मोड पेटर्सन र जर्मनका राजदूत माथियस मेयरले संयुक्त रुपमा शान्तिप्रावि भवनको शिलान्यास गरी निर्माण कार्यको शुभारम्भ गर्नुभयो ।
सो अवसरमा नर्वेका राजदूत पेटर्सनले शिक्षा विकासका लागि समाजका सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताउँदै विद्यालय भवन निर्माणमा सबैको सक्रिय सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
जर्मनका राजदूत मेयरले नेपालको शिक्षा क्षेत्रको विकासका जर्मन सरकारले नेपालसंग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँलेले विभिन्न झाँकी प्रदर्शन गरेका थिए ।