म्याग्दी, ४ कात्तिक । म्याग्दीको राखु भगवती–८ सिजलगाउँमा रहेको अन्नपूर्ण प्राथमिक विद्यालयको पुनःनिर्माणका लागि बेलायतमा रहेका राखुवासीले आर्थिक सहयोग गरेका छन् ।
गत साउनमा अविरल वर्षाका कारण भत्किएको कक्षाकोठा भवन पुनःनिर्माणका लागि राखु नेप्लिज कम्युनिटी युकेले एक लाख ७१ हजार ८५ रुपैयाँ सहयोग गरेको हो ।
बेलायतमा रहेका राखुवासी आबद्ध उक्त संस्थाको पहलमा त्यहाँ रहेका म्याग्दीको राखु पिप्ले र भगवती गाविसका बासिन्दाबाट सङ्कलन भएको उक्त सहयोग विद्यालयमा आयोजित एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन भण्डारी र प्रधानाध्यापक डेकबहादुर भण्डारीलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा राखु नेप्लिज कम्युनिटी युकेका उपाध्यक्ष रत्न (गोपाल) शाही र सचिव विष्णु भण्डारीले उक्त सहयोग बुधबार हस्तान्तरण गर्नुभएको थियो । विद्यालयको भवन पुनःनिर्माणका लागि उक्त सहयोग जुटाउन ३३ जनाले आर्थिक सहयोग गरेको विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका राखु नेप्लिज कम्युनिटी युकेका सचिव विष्णु भण्डारीले बताउनुभयो ।
विद्यालयको कक्षाकोठा भवन भत्किएपछि पठनपाठन प्रभावित बनेको सम्बन्धमा राससमार्फत समाचार प्रकाशन तथा प्रसारण भएपछि बेलायतमा रहेका विद्यालयका पूर्वविद्यार्थी तथा राखुवासीले सहयोग जुटाउन सुरु गरेका थिए । बेलायतमा रहेका राखुवासीले जिल्लाको अन्य विभिन्न सामाजिक काममा समेत सहयोग गर्दै आएका छन् ।
वर्षाले पर्खाल भत्किँदा पूर्णरुपमा चारवटा कोठामा क्षति पुगेको र अन्य भवनसमेत जोखिममा रहेको अवस्थामा बेलायतमा रहेका राखुवासीबाट भएको सहयोगले विद्यालयको पुनःनिर्माणमा राहत मिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन भण्डारीले बताउनुभयो ।
उहाँले विद्यालयको पुनःनिर्माणका लागि सहयोग गर्नेलाई धन्यबाद दिँदै पुनःनिर्माणका लागि ठूलो धनराशिको खाँचो परेकाले अन्य दातालाई समेत सहयोगका लागि आग्रह गर्नुभएको छ ।