काठमाडौँ, २ कात्तिक । विद्यालयका नाममा निकासा भएको लाखौँ रकम दुरुपयोग गरी अनियमितता गर्ने प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।
आयोगले सर्लाहीको रामजानकी प्राथमिक विद्यालयका प्रधानाध्यापक आशुतोषकुमार यादव र अध्यक्ष सन्जयकुमार यादवको प्रत्यक्ष संलग्नतामा विद्यालयका नाममा निकासा भएको रकम रु तीन लाख ८३ हजार २०० अनियमितता भएको ठहर गरेको छ ।
कुनै हिसाबकिताब नराखी जथाभावी रुपमा खर्च गरी गराई हिनामिना गरी सरकारलाई हानी–नोक्सानी पुर्याएको भन्दै आयोगले आज निज दुवैजनाविरुद्ध बिगोवमोजिम मागदाबीका साथ विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।