वालिङ, २१ असोज । स्याङ्जामा चालु शैक्षिकसत्रको हालसम्म चार विद्यालय समायोजन गरिएका छन् ।
समायोजन भएका ती विद्यालय सबै प्राथमिक तहका हुन् । सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटाका अनुसार जिल्लाको ठूलीपोखरी प्राथमिक विद्यालय पेल्काचौर, चन्द्रज्योति प्राथमिक विद्यालय पेल्काचौर, सिमलचौर प्राथमिक विद्यालय खिलुङ देउराली र मातृशिशु प्राथमिक विद्यालय पुतलीबजार नगरपालिका १२ का हुन् ।
कक्षा एकदेखि पाँचसम्म सञ्चालन हुँदै आएको पौवेगौडेस्थित विद्याज्योति प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या अपुग भएकाले कक्षा एकदेखि तीनसम्ममात्र सञ्चालन गरिएको छ ।
विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून, भौगोलिक विकटताजस्ता कारणले विद्यालय गाभिएका जिल्ला शिक्षा कार्यालयले जनाएको छ । उता अभिभावक गाउँ छाडेर बजारतिर बसाइ सर्नु, निजी विद्यालयतर्फ अभिभावक बढी आकर्षित हुनुले पनि गाउँगाउँका विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएको विद्यालय सञ्चालकहरु बताउँछन् ।
विद्यालय समायोजन भएपछि कार्यरत शिक्षक तथा विद्यार्थीलाई नजिकको पायक पर्ने विद्यालयमा सरुवा गरिएकोे कार्यालयले जनाएको छ ।
सबैभन्दा धेरै प्राथमिक विद्यालय रहेको जिल्लाको नामले परिचित स्याङ्जामा पछिल्लो समय विद्यालय गाभिने क्रम बढ्दो छ । २०६९ सालदेखि हालसम्म ३४ प्राथमिक विद्यालय एकापसमा गाभिएका छन् भने १६ विद्यालय समायोजनका लागि प्रक्रियामा रहेको छ ।
सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटाका अनुसार २०६९ सालमा छवटा, ०७० मा आठवटा, २०७१ मा छवटा, २०७२ मा नौवटा र चालु शैक्षिकसत्रको हालसम्म चारवटा विद्यालय समायोजन र एक प्राथमिक विद्यालयको कक्षा घटाइएको छ ।