जाजरकोट, २१ असोज । यहाँको जिल्ला शिक्षा कार्यालयले जिल्लाका सबै विद्यालयमा फर्निचर निर्माण अभियानलाई तीव्रता दिने भएको छ ।
कोही पनि विद्यार्थी सुरक्षित र व्यवस्थित तरिकाले बस्न पाउने अधिकारवाट वञ्चित नहुन् भनेर यो अभियान सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो । आन्तरिक तथा बाह्य स्रोतबाट सबै विद्यालयमा फर्निचर निर्माण यही आर्थिक वर्षमा हुने सिंहले जानकारी दिनुभयो ।
यो आवलार्ई जिल्लाको शैक्षिक सुधार वर्ष घोषणा गरेर काम थालेको जिल्ला शिक्षा कार्यालयले विभिन्न सुधारका सङ्केत देखाएको छ । शिक्षकले चाहेमा शैक्षिक सुधार र समाजका लागि योगदान कार्य अगाडि बढाउन सक्छन् भन्ने मूल उद्घोषसहित कार्य हुँदै आएका छन् ।
जिल्लाका सबै ठाउँमा जिल्ला शिक्षा कार्यालयले नमुना विद्यालय निर्माण र पठनपाठनसमेत गर्न विशेष अभियान सञ्चालनमा ल्याएको छ ।