भौतिक सरंचना जीर्ण हुँदा बालमैत्री विद्यालयमा कठिनाइ

06 October 2016 Source: RSS News

डडेल्धुरा, २० असोज । डडेल्धुरा जिल्लाका अधिकांश प्राथमिक विद्यालयका भौतिक संरचनालगायत विद्यालय भवन जीर्ण बनेकाले बालमैत्री संस्थामा शिक्षादीक्षा दिन कठिनाइ भएको छ ।

विद्यालय भवनमा पुराना चुहिने छाना जीर्ण भएका, भित्ता भत्किने अवस्थामा पुगेकाले वर्षात्को समयमा त कक्षाकोठामा बालबालिकालाई राखेर पढाउनसमेत समस्या भइरहेको सिद्धनाथ प्राथमिक विद्यालयका शिक्षक सरस्वती विष्टले बताउनुभयो ।

बर्सेनि विद्यालयमा विद्यार्थीको चाप बढे तापनि विद्यालयको भौतिक पूर्वाधारको सुधारतर्फ भने कसैले पनि चासो नदेखाएकाले बालमैत्री वातावरणमा शिक्षा दिन कठिनाइ भएको भित्री मधेश क्षेत्रका अर्का शिक्षक चन्द्रदेव डाँगीको भनाइ रहेको छ ।

व्यवस्थापन समितिसमेत निष्क्रिय जस्तै भएको र विद्यालय मर्मतका लागि खासै चासो नदेखाउने गरेकाले विद्यालयका भवन जीर्ण बन्नुका साथै कतिपय विद्यालयमा कक्षाकोठाको समेत अभाव रहेको शिक्षकको भनाइ रहेको छ । जिल्लाको आधाभन्दा पनि बढी जनसङ्ख्या रहेको भित्री मधेसका करिब २९ वटा शुद्ध प्राथमिक विद्यालय र पहाडी क्षेत्रमा रहेका विद्यालयसमेत पुराना भवन र भौतिक संरचना मर्मत नहुँदा जीर्ण बन्दै गइरहेका छन् ।

विद्यालयमा भौतिक पूर्वाधार विद्यालयको शैक्षिक वातावरण बालमैत्री हुनुपर्ने विद्यालयमा खानेपानीको सुविधा, छात्रछात्राको अलग अलग शौचालयको व्यवस्था हुनुपर्ने नीति नियममा उल्लेख भए तापनि धेरैजसो विद्यालयमा भने खानेपानीको अभाव रहेको साथै विद्यालय भवनसमेत जीर्ण भइसकेको बिपी प्राविका प्रधानाध्यापक कलावती पाण्डेयले बताउनुभयो ।

विभिन्न सरोकारवाला निकायले शिक्षाको गुणस्तरमा ध्यान पु¥याइरहेको भए तापनि प्राथमिक विद्यालयमा भौतिक पूर्वाधारको कमीका कारण बालमैत्री वातावरण सिर्जना हुन नसकेको कैलपाल प्रावि सुङ्रखालका शिक्षक पदम ऐरले बताउनुभयो ।

स्थानीय समुदाय वा व्यवस्थापन समितिहरुसँग भवन निर्माण गर्न सक्ने आर्थिक स्रोतको अभाव र विद्यालयको आन्तरिक स्रोत पनि नहुने हुँदा विद्यालय भवन मर्मत तथा निर्माणकार्य गर्न नसकिएकाले भवन जीर्ण र भौतिक संरचना अभावका कारण बालबालिकाले विद्यालयमा बालमैत्री वातावरणमा पढ्न नपाएको अभिभावकको भनाइ छ ।

More News