बाबियाचौर(म्याग्दी), २० असोज । म्याग्दीमा २०७२ को प्रवेशिका परिक्षा (एसएलसी)मा सर्वोकृष्ट अङ्क ल्याउने सामुदायिक विद्यालयका दुई विद्यार्थी र उनीहरुले अध्ययन गरेको विद्यालयलाई बुधबार पुरस्कृत गरिएको छ ।
म्याग्दी प्रवासी नेपाली सङ«घ (मोना) हङकङले बेनी सामुदायिक माविका अर्जुन पौडेललाई रु ४० हजार र छात्रातर्फ सर्वोकृष्ट जामुनाखर्क माविकी प्रकृति ढुङ्गानालाई नगद रु २५ हजार प्रदान गरेको हो ।
पौडेलले प्रवेशिका परीक्षामा ३.९० जिपीए र ढुङ्गानाले ३.७० जिपीए ल्याएका थिए । मोनाको प्रथम साधारणसभाको उद्घाटन कार्यक्रममा बेनी सामुदायिक माविलाई रु दश हजार र जामुनाखर्क माविलाई रु सात हजार प्रदान गरिएको थियो ।
सांसद नवराज शर्मा, मोनाका अध्यक्ष योगेन्द्र क्षेत्री, जिशिअ रामकुमार श्रेष्ठ, मोना हङकङका पूर्वअध्यक्ष तथा अन्तर्राष्ट्रिय कार्यसमितिका सचिव तुल्मराज राम्जाली र मोना हङकङ ट्रस्टका उपाध्यक्ष प्रमोद श्रेष्ठले पुरस्कार र प्रशंसापत्र वितरण गर्नुभएको थियो ।
मोना हङकङले सामुदायिक विद्यालयतर्फ जिल्लामा सर्वोकृष्ट हुने एक जनालाई चालीस हजार र छात्र सर्वोकृष्ट भएको अवस्थामा छात्रातर्फ बढी अङ्क ल्याउने र छात्रा सर्वोकृष्ट भएमा छात्रतर्फ प्रथम हुनेलाई रु २५ हजार पुरस्कार प्रदान गर्दै आएको छ ।
फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने म्याग्दीका तीनवटा विद्यालय सञ्चालन गर्न रु ११÷११ लाखको अक्षयकोष स्थापना गरेको मोना हङकङले गत वर्ष जिल्ला अस्पतालमा डिजिटल एक्सरे मेसीन उपलब्ध गराउनुका साथै सञ्चालनका लागि रु छ लाखको अक्षयकोष स्थापना गरेको थियो ।