बालबालिकाको आनीबानी सुधार्दै बालक्लब

05 October 2016 Source: RSS News

पथरी (मोरङ), १९ असोज । गतवर्ष मोरङको टङ्कीसिनुवारी–१ की ३५ वर्षीया लक्ष्मी अर्यालले छोराको अध्ययन काठमाडौँबाट मोरङ सार्नुभयो । काठमाडौँमा बस्दा छोराको पढाइ बिग्रिएकाले छोरालाई लिएर उहाँ आफ्नै गाउँ मोरङको टङ्कीसिनुवारी फर्किनुभयो । गाउँ फर्कनुको एउटै उद्देश्य थियो — ११ वर्षीय छोरा सिर्जलको अध्ययन र आनीबानी सुधार्नु ।

उहाँले भन्नुभयो, “काठमाडौँमा राम्रो पढ्ला भनेर लगेको, पढाइ पनि बिग्रियो, बानी व्यवहारमा पनि सुधार आएन ।”

टङ्कीसिनुवारी फर्किएर उहाँले छोरालाई युनिक एकेडेमीमा भर्ना गर्नुभयो । एक वर्षमै छोराको पठनपाठनमा उल्लेख्य सुधार आयो । सिर्जल कक्षा ५ मा उत्कृष्ट दशभित्र परे । पठनपाठनमा उनको प्रगति उल्लेख्य रह्यो । यसपछि उहाँले छोराको पढाइमा आएको सुधारको श्रेय स्थानीय सिद्धार्थ बाल क्लबलाई दिनुभयो । बालक्लबमा लागेपछि आनीबानीमा परिवर्तन आएको उहाँले सुनाउनुभयो । बाल क्लबमा सिकाइने नैतिक शिक्षाका कारण छोरामा सुधार आएको उहाँको भनाइ छ ।

लक्ष्मीको छोरा मात्रै हैन बालक्लबमा लागेपछि धेरै बालबालिकाको अध्ययनसँगै आनीबानीमा सुधार आएको छ । १४ वर्षीया मनिषा पाण्डे, सिद्धार्थ बाल क्लबकी अध्यक्ष हुनुहुन्छ । बालक्लबमा लाग्नुअघि उहाँको पढाइ कमजोर थियो । बालक्लबमा आबद्ध भएपछि उहाँले आनीबानीमा सुधार गर्नुभयो । अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुन थाल्नुभयो । उहाँ अहिले स्कुलमा हरेक गतिविधिमा प्रथम स्थान हात पारेको सुनाउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “वक्तृत्वकलामा मलाई कसैले भेट्दैन ।” मनिषाले धेरै पुरस्कार पनि हात पार्नुभएको छ । उहाँ भन्नुहुन्छ, “ममा आएको सुधार बालक्लबकै कारण हो ।” बालक्लबमा लागेपछि सामाजिक काममा पनि उहाँ अगाडि हुनुहुन्छ । उहाँ बालक्लबको अध्यक्ष भएपछि चेतनामूलक सडक नाटक गर्ने र मङ्सिरसम्ममा ‘क्लिन टङ्की’ बनाउने अभियान थालिएको छ ।

सरोज कार्की सिद्धार्थ बाल क्लबका सचिव हुनुहुन्छ । उहाँको पढाइमा व्यापक सुधार आएको छ । बालक्लबमा २५ जना सदस्य छन् । उहाँहरुले खाजाबापतको पैसा बचत गरेर क्लबमा जम्मा गर्दै आउनुभएको छ । बचत भएको पैसाले क्लबका सबै सदस्य एकै ठाउँमा ट्युसन पढ्ने गरेको सरोजले बताउनुभयो । अपुग पैसा बुबा–आमाले दिने गर्नुभएको छ । तर, अभिभावकबाट धेरै व्यहोर्नुपर्ने अवस्था नरहेको उहाँले सुनाउनुभयो ।

क्लबका सदस्यहरु एकै ठाउँमा बसेर पढ्न थालेपछि सबैको पठनपाठनमा उल्लेख्य सुधार आएको उहाँको भनाइ छ । “हाम्रो बालक्लबका कुनै साथी पनि कमजोर हुनुहुन्न,” उहाँले भन्नुभयो, “क्लबमा आबद्ध हुने सबै साथी एक से एक छन् ।”

बालबालिकाले स्थानीय गोवरधनदास कमलावती परोपकारी प्रतिष्ठानमा वृक्षरोपण पनि गर्नुभएको छ । त्यहाँको सरसफाइ हरेक साता गर्ने गरेको क्लबका सचिव कार्कीको भनाइ छ ।

बाल क्लबमा आबद्ध भएपछि खेमराज राउत, दीपेश थापा लगायतका क्लबका सबै सदस्यको अध्ययनसँगै आनीबानीमा पनि सुधार आएको अभिभावक बताउनुहुन्छ । राउत अहिले क्लबको उपाध्यक्ष हुनुहुन्छ भने थापा कोषाध्यक्ष । उहाँहरु पहिले कसैको अगाडि बोल्न सक्नुहुन्नथ्यो भने विद्यालयमा पढाइमा पनि कमजोर हुनुहुन्थ्यो । बाल क्लबमा आबद्ध भएपछि धेरै सुधार आएको उहाँहरुले सुनाउनुभयो । नजानेको कुरा क्लबभित्रै छलफल गर्छाैं, क्लबका साथीहरुबाट समाधान नभए सल्लाहकारलाई सोध्छौँ, त्यहाँबाट पनि समाधान नभए त्यसका विज्ञसम्म पुग्ने गरेको खेमराजले बताउनुभयो ।

यसमा क्लबका सल्लाहकार ५० वर्षीय रामकाजी कार्कीले सहयोग गर्नुभएको छ । उहाँले तीनजना बालक सुबम तामाङ, शेखर राउत र मिलन राउतलाई आफ्नै घरमा संरक्षण दिएर राख्नुभएको छ । उहाँले क्लबको कार्यालय सञ्चालनका लागि एउटा कोठा पनि निःशुल्क उपलब्ध गराउनुभएको छ ।

टोलभरिका बालबालिका त्यहीँ जम्मा भएर छलफल गर्छन् । बालबालिका हरेक गतिविधिमा प्रथम हुने गरेको उहाँले बताउनुभयो । क्लबको कार्यालयमा कुन–कुन सदस्य के–केमा प्रथम भए त्यसको लिस्ट क्लबमा टाँसिने गरिएको छ ।

उहाँहरुले प्राप्त गरेको पदक पनि क्लबमा सजाएर राखिएको छ । बालबालिकाले पहिलो प्राथमिकता पढाइलाई दिएको र त्यसपछि मात्रै अरू अभियानमा लाग्ने गरेको सल्लाहकार कार्कीको भनाइ छ ।

प्रदूषणरहित टङ्कीसिनुवारी बनाउने अभियानमा बालबालिका लागेको उहाँले बताउनुभयो । गाविसले कुल बजेटको १० प्रतिशत बालबालिकाको क्षमता अभिवृद्धिमा खर्चने गरेको छ । सिद्धार्थ बाल क्लबले नमुना कार्य गर्दै अघि बढेपछि अहिले टङ्कीसिनुवारी–५ को सुनौलो बाल क्लबले पनि उसकै बाटो पछ्याउन थालेको छ ।

सिद्धार्थभन्दा २ वर्षपछि स्थापना भएको सुनौलो बाल क्लबले समुदायमा सरसफाइ, जन्मदर्ता गर्न सहयोग गर्ने, बालविवाह नियन्त्रण र खुल्ला दिसामुक्त गाविस बनाउने अभियानमा सक्रिय भएर लागेको अध्यक्ष शंकर राजवंशीले बताउनुभयो ।

राजवंशीका अनुसार दाइजो प्रथा विरुद्धको नाटक, सरसफाइसम्बन्धी होर्डिङ वोर्ड, पाँच÷पाँच रुपैयाँ बचत गरेर डस्टबिन र बेल्चा खरिद गरिएको छ ।

More News