लिबाङ (रोल्पा), १८ असोज । जिल्ला शिक्षा कार्यालय रोल्पाले सूर्याेदय मावि सुलिचौर रोल्पालाई रु १६ लाख सहयोग गर्ने भएको छ ।
विद्यालयको भौतिक सुविधा विस्तार कार्यक्रमअन्तर्गत रहेको भौतिक निर्माणतर्फको दुईकोठे भवनका लागि रु १६ लाख सहयोग गर्न लागिएको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार उक्त माविले यसै वर्षदेखि माध्यमिक तहको कक्षा ११ र १२ सञ्चालन गर्नुका साथै प्राविधिक शिक्षा सञ्चालन गर्न लागेको हुँदा भौतिक पूर्वाधार निर्माणका लागि सो रकम सहयोग गर्न लागिएको हो ।
जिल्ला शिक्षा कार्यालयको आव २०७३/०७४ को वार्षिक कार्यक्रम अनुसार रु १६ लाखको आर्थिक सहयोगमा दुई कोठे भवन निर्माणका लागि जिल्लामा २५ कोटा प्राप्त भएकोमा सोमध्येबाट एउटा कोटा सुलिचौर माविलाई उपलब्ध गराउन लागिएको हो ।
यसैगरी, प्राथमिकताको क्रम निर्धारण गरेर श्रोत केन्द्रबाट सिफारिससहित निवेदन दिएमा अन्य २४ वटा विद्यालयलाई पनि दुई कोठे भवन निर्माणका लागि रु १६ लाखका दरले सहायोग गर्न सकिने पौडेलले बताउनुभयो ।
दुई कोठे भवन निर्माणका लागि जिल्लामा यस वर्ष रु चार करोडको अख्तियारी आएको जिल्ला शिक्षा कार्यालय रोल्पाका शाखा अधिकृत मोहन दाहालले जानकारी दिनुभयो ।