काठमाडौँ, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले गणित विज्ञानको महत्वलाई जनस्तरसम्म स्थापित गर्नुपर्ने बताउनुभएको छ ।
गणित विज्ञान ट्रस्ट नेपालले आज यहाँ आयोजना गरेको ‘गुरु अभिनन्दन तथा रथारोहण समारोह’मा उहाँले लामो समय अध्यापनमा बिताएर जीवनको उत्तराद्र्धमा पुग्नभएका व्यक्तिलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो – “अध्यापन र शिक्षालाई जीवनसँग जोड्ने विधि र प्रक्रिया विकसित गर्नुपर्ने आवश्यकता छ ।”
प्रधानमन्त्री दाहालले शिक्षकले कुनै व्यक्तिगत लोभ र प्रतिष्ठामा नफसी जीवनभर विद्यार्थीलाई राम्रो शिक्षा दिने र देशका निम्ति काम गर्ने विद्वान् जन्माउने काम गरेको जनाउँदै शिक्षकलाई सम्मान गर्न पाउँदा आफू गौरवान्वित भएको बताउनुभयो ।
कार्यक्रममा ट्रस्टका उपाध्यक्ष रुद्रहरि ज्ञवाली, नेपाल गणित समाजका अध्यक्ष प्रा डा टङ्क धमला, सम्मानित शिक्षक राममान श्रेष्ठ, लायनकुमार थापालगायतले गणितको महत्वका बारेमा चर्चा गर्नुभएको थियो ।