वैकल्पिक विद्यालय सञ्चालनमा समस्या

28 September 2016 Source: RSS News

बाबियाचौर (म्याग्दी), १२ असोज । प्रौढलाई औपचारिक शिक्षा प्रदान गर्न बेनीमा स्थापित वैकल्पिक विद्यालय सञ्चालनमा समस्या भएको छ ।

पारिवारिक, सामाजिक र आर्थिक लगायतका कारणले आधारभूत तहको औपचारिक शिक्षा हासिल गर्न नसकेकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले २०७३ साल वैशाखमा उज्यालो वैकल्पिक विद्यालय स्थापना भएको थियो । दिगो आर्थिक स्रोतको अभावमा विद्यालयका शिक्षकलाई तलब खुवाउन र प्रशासनिक गतिविधि सञ्चालनमा समस्या भएको व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार केसीले बताउनुभयो ।

चारजना शिक्षक कार्यरत विद्यालय सञ्चालन गर्न मासिक ५० हजार रुपैयाँ आवश्यक पर्छ । बेनी सामुदायिक माविअन्तर्गतको वैकल्पिक विद्यालय सञ्चालन गर्न म्याग्दी सामुदायिक पुस्तकालयलाई मासिक पाँच हजार रुपैयाँ भाडा तिरेर कोठा भाडामा लिइएको छ ।

दैनिक पाँच घन्टा पठनपाठन हुने सो विद्यालयमा ६१ जना विद्यार्थी छन् । धेरैजसो विद्यार्थी ४० वर्षभन्दा बढी उमेरका महिला छन् । उमेर छँदा लेखपढ गर्न नपाएका वैकल्पिक विद्यालयमा भर्ना भएर लेखपढ गर्न सिक्ने अवसर पाएका छन् ।

निरक्षर र बीचैमा पढाइ छाडेकालाई औपचारिक शिक्षाको पहुँचमा ल्याउन विद्यालय सहयोगी बनेको छ । शिक्षा मन्त्रालयले निर्धारण गरेको पाठ्यक्रम पढाइ हुने वैकल्पिक विद्यालयका विद्यार्थीले एसएलसी तहसम्मको अध्ययन गर्न पाउने व्यवस्था रहेको छ ।

विद्यालय सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले चन्दा सङ्कलन अभियान सुरु गरेको अध्यक्ष केसीले बताउनुभयो । बेनीमा मङ्गलबार पत्रकारसम्मेलन गरेर व्यवस्थापन समितिले चन्दा सङ्कलन अभियानको घोषणा गरेको हो ।

हालसम्म विभिन्न सङ्घसंस्था र व्यक्तिबाट चार लाख ११ हजार ६६७ रुपैयाँ सहयोग घोषणा भएको छ । वी विल राइज संस्थाले रु एक लाख नगद र एक लाखको अक्षयकोष स्थापना गरेको छ । चन्दाबाट सङ्कलित रकम कोषमा राखेर त्यसको ब्याजबाट विद्यालय सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

म्याग्दी सामुदायिक पुस्तकालयमा पाँच हजार रुपैयाँ भाडा तिरेर पठनपाठन सञ्चालन गरिएको छ । जिल्ला शिक्षा कार्यालयले प्रौढ विद्यालयलाई वार्षिक एक लाख ९३ हजार रुपैयाँ सहयोग गर्ने व्यवस्था छ ।

More News