विशेष प्रकारका विद्यालयलाई प्राथमिकताका साथ हेर्नुपर्छ – राष्ट्रपति

27 September 2016 Source: RSS News

काठमाडौँ, ११ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिले अध्ययन गर्ने विशेष प्रकारका विद्यालयलाई राज्यले प्राथमिकताका साथ हेर्नुपर्ने बताउनुभएको छ ।

केन्द्रीय बहिरा उमाविको स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले त्यस्ता विशेष प्रकारका विद्यालयमा शिक्षकका अतिरिक्त मेहनतबाट मात्र विद्यार्थीले सहज रुपमा शिक्षा ग्रहण गर्न सक्ने धारणा राख्नुभयो ।

सो विद्यालयले बहिरा विद्यार्थीलाई शिक्षा प्रदान गरी मुलुककै लागि प्रेरणादायी काम गरेकामा प्रशंसा गर्दै उहाँले भन्नुभयो – “अशिक्षा र अन्धविश्वासमा रुमलिएको मानव चेतनाले अपाङ्गता हुनलाई दैवी दोष दिएर अपहेलना गर्ने र परिवारदेखि समाजमा अपहेलित भएर बाँच्नुपर्ने बाध्यता मानवमा आएको चेतनाको परिवर्तनले हट्दै गएको छ ।”

उहाँले नेपालको संविधानले शिक्षा, स्वतन्त्रता, रोजगारी लगायत व्यक्तिगत अधिकारदेखि समाज र राष्ट्रका मूलप्रवाहमा अपाङ्गता भएका व्यक्तिलाई विशेष अवसरको व्यवस्था गरी उनीहरुको मानवीय संवेदनालाई पहिचान गरेको छ भन्नुभयो ।

सीमित साङ्केतिक शब्द र भाषाको प्रयोगबाट शिक्षाको गहनतालाई बुझाउन शिक्षकलाई चुनौती र शिक्षा ग्रहण गर्न विद्यार्थीलाई जटिल भएको विचार व्यक्त गर्दै राष्ट्रपतिले बहिरा विद्यार्थीले सबै सिकाइ हेरेर सिक्नुपर्ने हुँदा शिक्षकले दृष्य सामग्रीको अत्यधिक सामग्रीको प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले यस्ता विशेष प्रकारका विद्यालयमा शिक्षकले अन्य सामान्य विद्यालयभन्दा बढी मेहनत गर्नुपर्ने भए पनि अन्य शिक्षकसरह सेवा सुविधा नपाउनु अन्याय भएको बताउनुभयो ।

उहाँले भूकम्पले क्षतिग्रस्त सो विद्यालयको पुनःनिर्माणका लागि शिक्षा मन्त्रालयसँग आग्रह गर्दै राजधानी बाहिर पनि यस्ता विद्यालय खोल्नुपर्ने माग गर्नुभयो ।

शिक्षामन्त्री धनीराम पौडेलले विशेष क्षमता भएका विद्यार्थीलाई संविधान र अन्य कानुनले पनि प्राथमिकतामा राखेको अवगत गराउँदै यस्ता विशेष प्रकारका विद्यालय राजधानी बाहिर खोल्नका लागि सरकारको ध्यान पुगेको बताउनुभयो । उहाँले केन्द्रीय बहिरा विद्यालयको पुनःनिर्माण प्राथमिकताका साथ अघि बढाइने जानकारी पनि दिनुभयो ।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष रामेश्वरप्रसाद सिंह र निमित्त प्राचार्य मीना शाहले आफ्नो विद्यालयलाई सरकारले प्राथमिकताका साथ हेर्नुपर्ने धारणा राख्नुभयो । समारोहमा विद्यालयका स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान गर्ने संस्थापक, प्रअ, शिक्षक तथा पूर्वविद्यार्थीलाई अभिनन्दन गरिनाका साथै स्वर्ण महोत्सवका अवसरमा स्वर्णस्तम्भको अनावरण र ‘स्वर्ण स्मारिका’ लोकार्पण गरिएको थियो ।

More News