काठमाडौँ, ९ असोज । अस्ट्रेलियाको मेलवर्न सहरस्थित विश्वकै प्रतिष्ठित ला ट्रोब विश्वविद्यालयले नेपाली विद्यार्थीलाई १५ देखि २५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ ।
उक्त विश्वविद्यालयले यहाँ आज पत्रकार सम्मेलन गरेर शैक्षिकसत्र २०१७ देखि नेपालीलगायत अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्नातक र स्नातकोत्तर तहको अध्ययनमा १५ देखि २५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको हो ।
“विश्वका उत्कृष्ट ४०० विश्वविद्यालयमध्ये ४८औँ स्थानमा रहेको हाम्रो विश्वविद्यालयमा ३० हजार भन्दाबढी विद्यार्थी अध्ययनरत छन्, जसमा नेपालीको सङ्ख्या २०० बढी छ”विश्वविद्यालयका प्राध्यापक पल म्याथरले भन्नुभयो ।
विश्वस्तरीय अध्ययन अध्यापनका निम्ति प्रसिद्धि कमाएको उक्त विश्वविद्यालयले आगामी वर्षदेखि त्रिभुवन विश्वविद्यालयलगायत नेपालका विश्वविद्यालयसँग शैक्षिक कार्यक्रममा सहकार्य गर्ने योजना बनाएको जानकारी पनि उहाँले दिनुभयो ।
तीनवर्षे स्नातक र दुईवर्षे स्नातकोत्तर कार्यक्रम सेमेस्टर प्रणालीमा सञ्चालन हुने र पूरै कार्यक्रममा घोषित छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिँदै प्रा पलले ‘जसले पहिले भर्नाका निम्ति आवेदन गर्छ उसले नै छात्रवृत्ति पाउने’ (फस्ट कम फस्ट सर्भ) नीति विश्वविद्यालयले निर्धारण गरेको बताउनुभयो ।