काठमाडौँ, ८ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभ्य तथा समुन्नत समाज निर्माणका लागि पुस्तकालयको विकास गर्नुपर्ने बताउनुभएको छ ।
प्रदर्शनीमार्गस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको १३औँ स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुस्तकालयले पढ्ने संस्कृतिको विकास गर्ने बताउनुभयो ।
पूर्व प्रधानमन्त्री ओलीले पुस्तकालय सञ्चालन भइरहेको स्थान साँगुरो रहेकाले त्यसको विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो । पुस्तकालयको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो पुस्तकालयका अध्यक्ष डा नारायण खड्काले सहरको विकाससँगै पुस्तकालयले विकास गर्नुपर्नेमा जोड दिँदै यसले बुद्धिजीवीको समाज निर्माण गर्ने बताउनुभयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का उपाध्यक्ष डा कुलबहादुर बस्नेत र समाजसेवी राजेश घिमिरेले सार्वजनिक पुस्तकालयको आवश्यकता र महत्व औँल्याउँदै यसको पूर्वाधार विकास गर्नुपर्ने बताउनुभयो ।
काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजका महासचिव तीर्थराज वन्तले विद्युतीय पुस्तकालय सेवा उपलब्ध गराइएको भए पनि कम्प्युटरको अभावमा प्रभावकारी सेवा सञ्चालन गर्न नसकिएको जानकारी दिनुभयो ।