विद्यालयलाई अत्यावश्यक सेवा ऐनभित्र राख्नुपर्नेमा जोड

21 September 2016 Source: RSS News

काठमाडौँ, ५ असोज । विद्यालयलाई अत्यावश्यक सेवा ऐनभित्र पार्न सरोकारवालाले जोड दिएका छन् ।

विद्यालयमा भएको बमकाण्डप्रति नागरिक समाज सञ्जालको साझा पहलमा आज यहाँ आयोजित छलफलमा अत्यावश्यक सेवा ऐनभित्र विद्यालयलाई पारी नियमित सञ्चालन र भयरहित वातावरणमा पढ्ने र पढाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिइयो ।

कार्यक्रममा शिक्षा विभागका प्रतिनिधि कमला ज्ञवालीले विभिन्न विद्यालयमा भइरहेको बमकाण्डका कारण विद्यालय र विद्यार्थी असुरक्षित रहेकाले विद्यालयलाई शान्ति क्षेत्र कायम गर्न मन्त्रालयले केन्द्रीय शान्ति सुरक्षा अनुगमन समितिसँग छिट्टै बैठक बस्ने जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्गठन ९एनप्याब्सन० का अध्यक्ष कर्णबहादुर शाहीले विद्यालय शान्ति क्षेत्र घोषणा कागजको खोस्टोमा मात्र सिमित रहेको बताउँदै भन्नुभयो, “विद्यालयमा बम राखेर आतङ्कित बनाउने कार्य राजनीतिक कुसंस्कारको परिणाम हो । विद्यालयमा पढ्न पाउने जस्तो कुरालाई बन्धक बनाउने काम भइरहेको छ । विद्यालयमा आक्रमण गर्दैमा उनीहरुको कुरा सुन्छन् भन्ने भ्रम नराखे हुन्छ ।”

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नयनसिंह महरा, अनेरास्ववियुका सचिव आरसी लामिछाने र अखिल क्रान्तिकारीका उपाध्यक्ष आरसी अधिकारीले बमकाण्डको भत्सर्ना गर्दै विद्यालयलाई शान्ति क्षेत्र कायम गर्न सबैको पहल आवश्यक रहेको बताउनुभयो ।

यसैगरी शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका उपाध्यक्ष सुभेन्द्रमान श्रेष्ठ, नेपाल शिक्षक महासङ्घका महासचिव तिलक कुँवर, बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कृष्ण सुवेदीलगायतले विद्यालय क्षेत्रमा हुने यस्ता आतङ्ककारी क्रियाकलापले बालबालिकाको मानसिक, शारीरिक, बौद्धिक क्षति पुर्याउने भएकाले यस्ता घटना पुनः नदोहोरिउन् भन्नेतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

More News