काठमाडौँ, ५ असोज । सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई दीर्घकालीन रुपमा मुटुसम्बन्धी उपचारको जनशक्ति तयार गर्न शिक्षण संस्थाको रुपमा स्थापित गरिने भएको छ ।
मङ्गलबार बसेको मन्त्रालय, केन्द्रको सञ्चालक समिति र संवद्ध पक्षबीचको बैठकले त्यसका लागि तत्काल नै कम्तिमा काठमाडौँनजिक रहेका र सम्भव भए देशका अन्य स्थानमा रहेका अञ्चल र क्षेत्रीय अस्पतालमा उपलब्ध स्रोत साधन प्रयोग गर्दै गङ्गालाल मुटु केन्द्रको प्राविधिक सहयोगमा मुटुरोगको उपचारमा सुधार गर्ने सहमति भएको स्वास्थ्यमन्त्री तथा सञ्चालक समितिका अध्यक्ष गगन थापाले जानकारी दिनुभयो ।
उहाँले देशका विभिन्न भागका बिरामी आर्थिक अभावका कारण उपचार पाउनबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न यस्तो निर्णय गरिएको बताउनुभयो ।
बैठकले सरकारी र गैरसरकारी दुबैस्तरमा स्रोत जुटाएर गङ्गालाल केन्द्रमा आउने कुनै पनि मुटुरोगीले पैसा नहुँदा उपचार नपाउने अवस्थाको अन्त्य गर्ने विषयमा पनि सहमति गरेको छ ।