काठमाडौँ, ३० भदौ । शिक्षा, स्वास्थ्य, मनोरञ्जन, गाँस, बास, सुरक्षित जीवनलगायत बालबालिकाको अधिकार प्राप्तिमा अधिकारकर्मीले जोड दिएका छन् ।
राष्ट्रिय बालदिवस–२०७३ को अवसरमा खुसीको घर (ह्याप्पी होम) नामक संस्थाद्वारा बुधबार आयोजित कार्यक्रममा रक्षा नेपालकी अध्यक्ष मेनुका थापा र आमा घरकी अध्यक्ष दिलशोभाले बालबालिका भोलिका कर्णधार भएको हुँदा आज उनीहरूको शिक्षामा सबैभन्दा बढी ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
नेपालले सन् १९९० सेप्टेम्बर १४ अर्थात् भदौ २९, २०४७ सालदेखि प्रत्येक वर्ष बाल दिवस मनाउने गरिएको छ । खुसीको घर (ह्याप्पी होम)की संरक्षक महिमा पोखरेलले अहिले ह्यापी होममा अलपत्र परेका करिब सय बालबालिका रहेको जानकारी दिनुभयो । बाल दिवसका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।
कार्यक्रममा विभिन्न सामाजिक कार्यमा निरन्तर लाग्नुहुने व्यक्तित्व र एसएलसीमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रशंसापत्र वितरण गरिएको थियो ।