ललितपुर, २५ भदौ । शिक्षाका क्षेत्रमा कार्यरतले नेपालको शिक्षा प्रणाली विद्यार्थी केन्द्रित बन्नुपर्नेमा जोड दिएका छन् ।
अमेरिकी लेखक जोन हल्टद्वारा लिखित पुस्तकको नेपाली अनुवाद ‘असफल स्कुल’ को लोकार्पण कार्यक्रममा बोल्दै वक्ताले सिकाउने तरिकामा परिवर्तनको खाँचो भएको बताएका हुन् । सन् १९६० को दशकमा अमेरिकाको विद्यालयका कक्षा र अहिलेको नेपालको कक्षाको अवस्था उस्तै भएको उनीहरुले बताएका छन् ।
शिक्षाविद् केदारभक्त माथेमाले नेपालको शिक्षामा धेरै किसिमका सुधार आवश्यक भएकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीलाई समाज बुझाउन राखिएको सामाजिक शिक्षा अहिले अङ्ग्रेजीमा पढाइ हुन्छ ।” नेपालीमा अहिले पनि अङ्गे्रजी जान्दा राम्रो पढेको भ्रम रहेको छ ।
शिक्षाशास्त्री डा बालचन्द्र लुइँटेलले भाषिक समस्याले गर्दा बालबालिकालाई सिक्न गाह्रो भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गणितमा विषय विज्ञ र वैज्ञानिकले मात्रै बुझ्ने भाषाको प्रयोग हुने गरेको छ ।” पाठ्यपुस्तक लचिलो हुनुपर्ने उहाँले बताउनुभयो ।
प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले नीतिनिर्माण तहमा नै परिवर्तनको खाँचो भएको बताउनुभयो । अभिभावकले बढी गृहकार्य खोज्दा शिक्षक परिवर्तन हुन नसकेको उहाँले भन्नुभयो, “गृहकार्य कम हुँदा हामीलाई धेरै अभिभावकले गुनासो गर्नुहुन्छ ।”
पुस्तककाबारेमा बोल्दै पुस्तकका अनुवादक शरच्चन्द्र वस्तीले अमेरिकामा पहिले विकर्षणको केन्द्र बनेको विद्यालय अहिले आकर्षणको केन्द्र भएको बताउनुभयो । सिकाइ केन्द्रका अध्यक्ष धनञ्जय शर्मा अधिकारीले विद्यालयले अहिले विद्यार्थीको स्वतन्त्रता हरण गरेको आरोप लगाउनुभयो ।