बृहत्तर विद्यालय सुरक्षा कार्यक्रम लागू हुने

11 September 2016 Source: RSS News

बैतडी, २६ भदौ । बैतडीमा बृहत्तर विद्यालय सुरक्षा कार्यक्रम लागू हुने भएको छ ।

प्राकृतिक विपद्बाट जोखिममा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जोखिमसम्बन्धी जानकारी गराउने र जोखिम नहुने विद्यालयको संरचना बनाउनमा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम लागू हुन लागेको हो ।

युनिसेफ नेपालको आर्थिक र एनसेट नेपालको प्राविधिक सहयोगमा जिल्ला शिक्षा कार्यालय र नेपाल रेडक्रस सोसाइटी शाखालगायत विपद्को क्षेत्रमा काम गर्ने निकायसँगको सहकार्यमा कार्यक्रम सञ्चालन हुनेछ ।

कार्यक्रम सञ्चालनका लागि बैतडीका थलाकाँडा, तल्लादेही, विशालपुर र गुरुखोला गरी चार गाविस छनौट गरिएका छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको अध्यक्षतामा सम्पन्न सरोकारवाला निकायको बैठकले उक्त गाविस छनौट गरेको हो ।

छनोट भएका गाविसमा जीर्ण अवस्थामा रहेका विद्यालय छनोट गरी विद्यालयमा आउने हरेक विपद्को समाधान गर्नका लागि सुरक्षित विद्यालय, विपद् पूर्व तयारीका योजना र यसको कार्यान्वयनलगायतका कार्य गरिने प्रजिअ चौधरीले बताउनुभयो ।

थलाकाँडा, तल्लादेही, विशालपुर गाविसमा प्रतिगाविस आठका दरले २४ विद्यालयमा कार्यक्रम लागू हुनेछ भने गुरुखोला गाविसका छ विद्यालय कार्यक्रम सञ्चालनका लागि छनोट हुनेछन् ।

दशरथ चन्द नगरपालिका र पाटन नगरपालिकाबाट केही विद्यालयमा पनि नमुना विद्यालय छनोट गरिनेछ । समय–समयमा आइपर्ने विपद्बाट बच्न सकिने उपायका बारेमा विद्यालयमा जानकारी गराइनेछ ।

विद्यालयमा आइपर्ने विभिन्न जोखिमबाट बच्नका लागि शिक्षकलाई तालिम प्रदान गरिनेछ । विद्यालयमा रहेका भवनलाई भूकम्प प्रतिरोधी बनाइने, भूकम्प, बाढी, पहिरो, चट्याङ आदिबाट हुनसक्ने सम्भावित जनधनको क्षतिबाट जोगाउन सक्षम विद्यालय निर्माणका लागि उक्त कार्यक्रम प्रभावकारी हुने स्थानीयवासीको विश्वास छ ।

More News