काठमाडौँ, २४ भदौ । सामुदायिक विद्यालयको सुदृढीकरणमा सञ्चार क्षेत्रले चासो दिनुपर्नेमा जोड दिइएको छ ।
लूनिभाः बालसरोकार समूहले आज यहाँ आयोजना गरेको ‘सामुदायिक विद्यालयको सुशासनमा सञ्चारको भूमिका’ विषयक अन्तक्र्रियामा वक्ताहरुले सामुदायिक विद्यालयमा सिकाइ उपलब्धि बढाउन सञ्चारकर्मीले कलम चलाउनुपर्ने आवश्यकता औँल्याएका हुन् ।
शिक्षाविद् डा भोला दाहालले सञ्चारकर्मीले सामुदायिक विद्यालयका बढी समाचार सम्प्रेषण गरेर विद्यालयको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
सामुदायिक विद्यालयमा सक्षम शिक्षक हुँदाहुँदै पनि सिकाइ उपलब्धिमा उल्लेखनीय उपलब्धि हुन नसकेको उल्लेख गर्दै उहाँले शिक्षण सिकाइ पद्धति शिक्षकमा मात्र सीमित नगरी विद्यार्थीमा पनि पुर्याउनुपर्नेमा जोड दिनुभयो ।लूनिभाःका कार्यकारी निर्देशक नरेन्द्र डङ्गोलले विद्यालयको सुशासन विद्यालय व्यवस्थापन समितिले राख्नुपर्नेमा त्यसो हुन नसकेकाले सञ्चारमाध्यमले नै औल्याइदिनुपर्ने अपेक्षा गर्नुभयो ।
कार्यक्रममा सहभागी पत्रकारहरुले सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि निरन्तर कलम चलाउँदै आएको जनाउँदै आगामी दिनमा थप चासो दिने जनाउनुभएको थियो ।