बागलुङ, २३ भदौ । धवलागिरि बहिरा आवासीय माध्यमिक विद्यालय बागलुङमा कम्प्युटर इन्जिनियरिङको पढाइ सुरु भएको छ ।
नेपालमै पहिलोपटक बहिरा विद्यार्थीले प्रवेशिका उत्र्तीणपछि कम्प्युटर इन्जिनियरिङ विषय पढ्ने अवसर पाएका छन्
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को आङ्गिक सम्बन्धन लिई विद्यालयले तीनवर्षे कम्प्युटर इन्जिनियरिङ कक्षा सञ्चालन गरेको हो । यसले बहिरा विद्यार्थीको प्राविधिक शिक्षातर्फ उच्च शिक्षा हासिल गर्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ ।
सुरुमा धवलागिरि बहिरा आवासीय माध्यमिक विद्यालयबाट प्रवेशिका उत्र्तीण गरेका कम्प्युटरतर्फका १७ जना र विराट बहिरा विद्यालय विराटनगरबाट प्रवेशिका उत्तीर्ण गरेका ११ जना बहिरा विद्यार्थीले पढाइ सुरु गरेका छन् । बागलुङ सदरमुकामस्थित कालिका कन्यामन्दिर मावि र विद्यामन्दिर उच्च माविका एक एकजना सुन्ने विद्यार्थीले पनि अध्ययन सुरु गरेको विद्यालयका प्रधानाध्यापक मधुसूदन निउरेले जानकारी दिनुभयो ।
बहिरा विद्यार्थीले तीनवर्षे पढाइ पूरा गरेपछि कम्प्युटर इन्जिनियरिङमा जुनसुकै क्याम्पसमा उपल्लो तहमा अध्ययन, अध्यापन तथा अन्य सरकारी निकायमा सेवा प्रवेश गर्न पाउनेछन् ।
विद्यार्थीलाई निःशुल्क आवासीय सुविधासहित अध्ययन गर्ने व्यवस्था गरिएको विद्यालयका संस्थापक केवी रानामगरले बताउनुभयो । अध्यक्ष रानामगरका अनुसार बहिरा विद्यार्थीले प्राविधिक धारबाट उच्च शिक्षा हासिल गर्न अन्यत्र कुनै क्याम्पस नभएपछि विद्यालयले नै पढाउन सुरु गरेको हो ।“विद्यालय तहसम्मका लागि सरकारले सहयोग दिने गरेको छ, उच्च शिक्षाका लागि सहयोग नआउने भएकाले सिटिइभिटीबाट आङ्गिक सम्बन्धन लिएर पढाइ सुरु गरेका हौँ” – संस्थापक रानामगरले भन्नुभयो । पहिलो चरणमा सिटिइभिटीले कक्षा व्यवस्थापन, प्रयोगशाला व्यवस्थापन गरी कक्षा सञ्चालन गर्न रु ४८ लाख सहयोग गरेको छ ।
साथै हरेक वर्ष चारजना शिक्षकको तलब भत्ता सिटिभिटीले व्यवस्थापन गर्नेछ । साथै आङ्गिक भएकाले सिटिइभिटीको वार्षिक बजेटबाट पनि अन्य रकम व्यवस्थापन गर्न सक्ने जनाइएको छ । हाल ३० जना विद्यार्थीलाई हरेक छ महिनामा सेमेस्टर प्रणालीमार्फत परीक्षा लिइने र तीन वर्षसम्म छवटा सेमेस्टरमा अध्यापन हुने सिटिभिटी तीन वर्षे ‘कम्प्युटर डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ’ विषय संयोजक तथा शिक्षक कुलप्रसाद सापकोटाले बताउनुभयो ।
उहाँका अनुसार पहिलो सेमेस्टरमा नेपाली, अङ्ग्रेजी, इन्जिनियरिङ गणित, इन्जिनियरिङ फिजिक्स, केमेस्ट्री, सि–प्रोग्रामिङ र कम्प्युटर फन्डामेन्टल विषय समावेश गरिएको छ । बहिरा विद्यार्थीलाई सबै विषय प्रोजेक्टरको माध्यम (स्र्माट बोर्ड) तथा सबै विषयको प्रयोगशालासहित साङ्केतिक भाषाका माध्यमबाट अध्यापन गराइनेछ ।