जाजरकोट, २३ भदौ । पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले भेरिमालिका नगरपालिकास्थित कुदु माध्यमिक विद्यालयलाई रु पाँच लाख सहयोग प्रदान गर्नुभएको छ ।
विद्यालयको भौतिक पूर्वाधार, खानेपानी लगायतका समस्या भएको गुनासो स्थानीय अभिभावकले गरेपछि पूर्वमन्त्री बस्नेतले बुधबार रु पाँच लाख रकम दिनुभएको हो । मन्त्री बस्नेतले यो रकम दिएपछि विद्यालयमा भौतिक पूर्वाधारका सामग्री र पानीको धारा जोड्न सहज हुने स्थानीय लोकेन्द्र रोकायले जानकारी दिनुभयो । विद्यालय सञ्चालन गर्न निकै समस्या परेको बेला यो रकम पाउँदा विद्यालय परिवार निकै खुसी भएको उहाँले बताउनुभयो ।
पूर्व गृहमन्त्री बस्नेतले सो रकम आफ्नो तलबबाट दिनुभएको हो । खलङ्गाको कालेगाउँमा आधा रोपनीभन्दा कम जमिन भएका बस्नेत कुनै निजी सम्पत्ति नजोडेका नेतामा पर्नुहुन्छ । उहाँ लामो समयदेखि ललितपुरको भैँसेपाटीमा भाडाको घरमा बस्दै आउनुभएको छ ।
उहाँको यो घोषणासँगै अहिले विद्यालयलाई जग्गा तथा आर्थिक सहयोग गर्नेको घुइँचो लागेको विद्यालयले बताएको छ ।