बागलुङ, २३ भदौ । वर्षापछि गएको पहिरोले बागलुङको मल्म–८ स्थित एक घर र विद्यालय जोखिममा परेका छन् । राजबहादुर थापाको घर र गोठ अगाडिबाट पहिरो गएको छ ।
सोही स्थान नजिकको जनहित माध्यमिक विद्यालयको भवन पनि पहिरोको जोखिममा छ । रोकथामका लागि तत्काल उपाय नअपनाए दुवै संरचनामा क्षति पुग्ने देखिएको छ ।
वडा नागरिक मञ्चका संयोजक ज्ञानबहादुर थापाका अनुसार विद्यालयको तल्लो भवन बढी जोखिममा छ । भवन छेउबाट आइतबार गएको पहिरोले उपल्लो भवनसम्मको आवतजावत पनि बन्द भएको छ । “पहिरो रोक्ने र क्षति भएको क्षेत्रमा तत्काल पुनःनिर्माण गर्न आवश्यक छ”, संयोजक थापाले भन्नुभयो, “विद्यालय भवन जोगाउन जालीसहितको पर्खाल उठाउनुपर्ने देखिन्छ ।”
विद्यालयले केही भागमा पर्खाल उठाएपनि त्यो पर्याप्त र मजबुत नरहेको उहाँको भनाइ छ । भिरालो ठाउँमा अवस्थित विद्यालयभन्दा तलबाट गत हिउँदमा मोटरबाटो खन्दा भूगोल कमजोर भई पहिरो गएको हुन सक्ने बताइएको छ ।
विद्यालय र नजिकको बस्तीमा सडक सञ्जालसँग जोड्न यसै वर्ष मोटरबाटो खनिएको थियो । विद्यालयको आडमै रहेको राजबहादुर थापाको घर र गोठअघिबाट करिब २० मिटरभन्दा लामो पहिरो खसेको छ । पहिरो खसेर नयाँ खनिएको सडकमा गएर रोकिएको थापाले जानकारी दिनुभयो ।
गत आइतबार बिहानको पहिरोका कारण घर, गोठ दुवै जोखिममा परेको उहाँको भनाइ छ । “गोठअघिबाट ठूलो पहिरो खसेको छ, घरको आँगन र पिँढी पनि चर्किएर खस्ने अवस्थामा पुगेको छ”, थापाले भन्नुभयो ।
भिरालो ठाउँमा रहेको घर बर्खायाममा केही वर्षअघि देखि चर्कंदै आएको थियो । यसै वर्ष खनिएको मोटरबाटोले छिट्टै पहिरो निम्त्याएको थापाको भनाइ छ । “घरबास जोगाउनै गाह्रो देखिएको छ, ठूलो वर्षा हुँदा ठूलो क्षति पुग्ने देखिन्छ”, थापाले भन्नुभयो, “पहिरो उठाउनका लागि सम्बन्धित निकायबाट सहयोगको अपेक्षा गरेका छौँ ।”
विद्यालय र घरलाई जाली उपलब्ध गराउन वडा नागरिक मञ्चले भू–संरक्षण कार्यालयलाई निवेदन पनि गरेको छ । दुवै स्थानको पहिरो उठाउन सय थानभन्दा बढी जाली लाग्ने अनुमान गरिएको छ । जाली र अन्य आवश्यक सहयोग उपलब्ध हुनेमा पहिरो प्रभावित विश्वस्त छन् ।