‘शिक्षा ऐनले व्यवस्था गरे अनुरुप नियमावली ल्याइने’ : शिक्षामन्त्री पौडेल

06 September 2016 Source: RSS News

काठमाडौँ, २१ भदौ । उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले शिक्षा ऐनलाई नेपालको संविधानअनुरुप र निजी क्षेत्रमैत्री बनाउन पहल गर्नुपर्ने मागसहितको ध्यानाकर्षण पत्र आज शिक्षामन्त्री धनीराम पौडेललाई बुझाएको छ ।

हिसानले शिक्षा नियमावली निर्माण गर्दा हिसानलगायत सरोकारवाला संस्थाको सुझाव लिई ऐनमा प्रष्ट नभएका विषयलाई प्रष्ट गर्नुपर्ने, राष्ट्रिय शिक्षा परिषद्लगायत शिक्षासम्बन्धी सरोकारवाला समितिमा हिसानको प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने र राष्ट्रिय परीक्षा बोर्डलाई यथाशीघ्र पूर्णता दिई कार्य सम्पादनमा लगाइनुपर्नेलगायत माग राखेको हो ।

यसैगरी कक्षा ११ र १२ को परीक्षाको परिणाम ग्रेडिङ प्रणालीअन्तर्गत गर्ने हो वा अङ्क प्रणालीअन्तर्गत गर्ने हो त्यसको निक्र्योल गरी तुरुन्त सम्बन्धित संस्था र व्यक्तिलाई जानकारी गराइनुपर्ने, ग्रेडिङमा जाने हो भने सोहीअनुसार पाठ्यक्रम र पाठ्यपुस्तकमा परिमार्जन गर्नुपर्ने हिसानले माग गरेको छ ।

हिसानका अध्यक्ष रमेश सिलवालले नेपालको शिक्षा जगतलाई मर्यादित र व्यवस्थित बनाउन आफ्नो क्षेत्रबाट सरकारलाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

शिक्षामन्त्री पौडेलले ध्यानाकर्षणपत्र बुझ्दै शिक्षा ऐनले गरेका व्यवस्थालाई कार्यान्वयन गर्न छिट्टै नियमावली, निर्देशिका र कार्यविधि ल्याइने आश्वासन दिनुभयो ।

More News