पठन संस्कृति वृद्धि गर्न जोरपाटीमा पुस्तकालय

03 September 2016 Source: RSS News

काठमाडौँ, १८ भदौ । पठन संस्कृतिलाई वृद्धि गर्ने उद्देश्यले गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा चामुण्डा पुस्तकालय तथा सूचना केन्द्र स्थापना गरिएको छ ।

चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले स्थापना गरेको पुस्तकालयमा संस्कृत, नेपाली र अङ्ग्रेजी भाषाका चारहजार पुस्तक राखिएको अध्यक्ष विमलमान श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

पुस्तकालयको उद्घाटन गर्दै वरिष्ठ पत्रकार विजय चालिसेले गाउँ र सहरका कुना कुनामा पुस्तकालयको स्थापना गरिए युवा पुस्तामा पठन संस्कृतिको विकास हुने बताउनुभयो ।

"पुस्तकालय खुला विश्वविद्यालय हो, यसको विस्तार गरिनुपर्छ, सूचना प्रविधिको विकास भए पनि पुस्तकालयको स्थान विशिष्ट छ" - उहाँले भन्नुभयो । पत्रकार चालिसेले पुस्तकालयका लागि रु ११ हजार सहयोगको घोषणा गर्नुभयो ।

साहित्यकार गोविन्दप्रसाद घिमिरे "वेदमणि" ले पुस्तकालयको स्थापनाभन्दा व्यवस्थितरुपमा सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो ।

लायन्स क्लब इन्टरनेसनल ३२५ ए १ का गभर्नर कुमारराज सुवेदी, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा श्रीराम अधिकारी, अध्यक्ष श्रेष्ठ र पत्रकार निर्मल अर्यालले पुस्तकालयले पाठकलाई सिर्जनात्मक बन्न योगदान गर्ने भएकाले सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सहभागीबाट पुस्तकालयमा पुस्तक थप्नका लागि आजै रु ६० हजार नगद सङ्कलन भयो । पुस्तकालयमा धार्मिक पुस्तक खरिद गर्न स्थानीय आनन्द बरालले रु २० हजार सहयोग गर्नुभयो ।

पुस्तकालयले चामुण्डा मन्दिरका विषयमा सूचना सम्प्रेषण गर्ने जानकारीसमेत सो अवसरमा गराइयो ।

More News