साताव्यापी रुपमा शिक्षा दिवस मनाइने

31 August 2016 Source: RSS News

भक्तपुर, १५ भदौ । सरकारले यसवर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०७३ विभिन्न कार्यक्रम गरी एक सातासम्म मनाउने भएको छ ।

अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक दीवाकर ढुङ्गेलले यही भदौ १७ गते शुक्रबारदेखि २३ गतेसम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाइने बताउनुभयो ।

केन्द्रमा १७ गते काठमाडौँ, भक्तपुर र ललितपुरबाट सहभागी हुने आठ वटा समूहबीच लोकदोहरी प्रतियोगिता, लघु नाटक प्रदर्शनी, भदौ २३ गते केन्द्र प्राङ्गणमा वृक्षारोपण गरिने छ ।

भदौ २३ गते नै प्रभातफेरीको आयोजना हुने, झाँकी तथा रर्याली आयोजना हुने, केन्द्रको साक्षरता विशेषाङ्क सार्वजनिक गरिने, स्टल तथा प्रर्दशनी,पुरस्कार वितरण गरिनेलगायतका विभिन्न कार्यक्रम रहेका छन् ।

पत्रकार सम्मेलनमा उहाँले साक्षरतासम्बन्धी जानकारी दिँदै २०६७ सालमा देशभर ५१ लाख ७३ हजार ९७९ जना निरक्षर रहेकामा आव २०७१ - ०७२ सम्ममा ४७ लाख ८७ हजार ९१२ जनालाई साक्षर बनाएको जानकारी दिनुभयो ।

आव.२०७२ - ०७३ मा एक लाख ४६ हजार १० जनालाई निरन्तर शिक्षा दिएको जानकारी दिँदै उहाँले २९ वटा जिल्ला पूर्णसाक्षर घोषणा भएको र बाँकी २४ जिल्ला पनि पूर्णसाक्षर भएर घोषणाको तयारीमा रहेको जानकारी दिनुभयो ।

More News