काठमाडौँ १५ भदौ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले छ वटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचौ साधारणसभाले सुदूरपश्चिमका छ क्याम्पसलाई सुपविको आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको हो ।
सुपविले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालन भएका छ क्याम्पसलाई आङ्गिक बनाइने निर्णय गरेको विश्वविद्यालयका उपकुलपति प्रा भूषण श्रेष्ठले जानकारी दिनु भयो ।
उहाँका अनुसार भानु बहुमुखी क्याम्पस दोधरा कञ्चनपुर, अछाम बहुमुखी क्याम्पस मङ्गलसेन अछाम, लम्की बहुमुखी क्याम्पस लम्की कैलाली, केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस बिपीनगर डोटी, शङ्करपुर बहुमुखी क्याम्पस पस्ती दार्चुला र घोडाघोडी बहुमुखी क्याम्पस सुखड कैलालीलाई सूपविको सम्बन्धन दिने निर्णय भएको छ ।
विश्वविद्यालयले दोस्रो साधारणसभाबाट दुई क्याम्पसलाई सम्बन्धन दिने निर्णय गरेको छ ।
सभामा प्रधानमन्त्री तथा कुलपति दाहालले सुदूरपश्चिमलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको विश्वविद्यालयका रजिस्ट्रार प्रा डा द्विजराज भट्टले जानकारी गराउनुभयो ।
रजिस्ट्रार भट्टका अनुसार सभामा शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति धनीराम पौडेलले सुदूरपश्चिमकै शिक्षालाई विश्वविद्यालयले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । सभाले आव २०७३ - ०७४ का लागि रु ५७ करोड ७६ लाखको बजेट पारित गरेको छ ।
यसैगरी सभाले महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको केन्द्रीय क्याम्पस बनाउने निर्णय गरेको रजिस्ट्रार भट्टले जानकारी गराउनुभयो ।