पोखरा, १४ भदौ । वैदेशिक रोजगार व्यवसायी पदमराज पौडेलले कास्की र स्याङ्जाका तीन विद्यालयमा सोमबार करिब रु पाँच लाख बराबरको कम्प्युटर तथा नगद प्रदान गर्नुभयो ।
पौडेलले कास्कीको लेखनाथ नगरपालिका - १० बेगनासस्थित आनन्दज्योति उच्च माविलाई छ थान कम्प्युटर प्रदान गर्नुभयो भने बेगनासकै ज्योति प्राविलाई एक थान कम्प्युटर, एक थान प्रिन्टर र रु ५० हजार नगद प्रदान गर्नुभयो ।
त्यस्तै, उहाँले स्याङ्जा ठूला डिही - ८ स्थित जनता उच्च माविलाई पनि दुई थान कम्प्युटर प्रदान गर्नुभयो ।
आनन्दज्योति उच्च माविमा सोमबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा पौडेलले अबको शिक्षा सूचना प्रविधिको भएकाले आफूले ग्रामीण भेगका विद्यार्थीको उज्वल भविष्य निर्माणका लागि कम्प्युटर वितरण गरेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर बुढाथोकीले प्राप्त सहयोगको अधिकतम उपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
पौडेलले सोमबारै छुट्टाछुट्टै कार्यक्रमका बीच बेगनासको ज्योति प्रावि र स्याङ्जा ठूला डिही - ८ स्थित जनता उच्च माविलाई पनि उक्त सहयोग हस्तान्तरण गर्नुभएको थियो ।