काठमाडौँ (शङ्खरापुर), ९ भदौ । सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलापले विद्यार्थीमा सिकाइ उपलब्धि बढाएको सहभागीले बताएका छन् ।
शङ्खरापुरको जरहसिंहपौवामा ग्लोबल एक्सन नेपालले आज आयोजना गरेको "शिक्षा तथा बालसंरक्षणमा सामुदायिक सहभागिता" विषयक गोष्ठीमा सहभागीले विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्नाले विद्यार्थीको सिकाइ उपलब्धि बढाएको बताएका छन् ।
कार्यक्रममा बालज्योति निमावि शङ्खरापुर - २ का प्रधानाध्यापक सीताराम ढुङ्गानाले विद्यालयमा अतिरिक्त क्रियाकलाप गरेसँगै विद्यार्थीले विद्यालयको पढाइ समयावधिमा पूरा समय बस्ने भएकाले सिकाइ उपलब्धि बढेको बताउनुभयो ।
जरहसिंहपौवास्थित कालिकाशरण उमाविका प्रधानाध्यापक प्रमोद प्रधानले प्राथमिक तहमा खेल सामग्रीसँगै पढाउँदा विद्यार्थीको सिकाइमा सहयोग मिलेको बताउनुभयो ।
शङ्खरापुर - २ चाँपाबोटस्थित चाँपाबोट उच्च माविका प्रअ नारायण धिमालले बालबालिकालाई शैक्षिक सामग्री दिएपछि बालकक्षादेखि कक्षा ३ का बालबालिकाको पढाइमा सकारात्मक परिवर्तन आएको जानकारी गराउनुभयो ।
शङ्खरापुर नपा - १ देखि ५ सम्मका १४ विद्यालयमा विद्यार्थीलाई विद्यालय समयमा टिकाउनका लागि खेल सामग्री, शैक्षिक सामग्री प्रदान गर्नुका साथै अतिरिक्त क्रियाकलाप सञ्चालन गरेका छन् ।
ग्लोबल एक्सन नेपालका परियोजना प्रबन्धक दलबहादुर सुनारले खेल सामग्रीका माध्यमबाट पढाउँदा प्रारम्भिक कक्षाका बालबालिकामा पढ्ने वातावरण निर्माण भएको बताउनुभयो ।