पुस्तकालय दिवसका कार्यक्रम सुरु

25 August 2016 Source: RSS News

काठमाडौँ, ९ भदौ । यस वर्ष नवौँ पुस्तकालय दिवस मनाउनका लागि आजदेखि सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत यही भदौ १५ गतेसम्म शिक्षा मन्त्रालयका साथै विभिन्न शैक्षिक संस्था, रुम टु रिड जस्ता गैरसरकारी सङ्घसंस्थाले पठन संस्कृतिको विकासका लागि पुस्तकालयको महत्वकाबारे देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरिनेछ ।

सो दिवसका लागि कामु शिक्षा सचिव डा डिल्लीराम रिमालको अध्यक्षतामा पुस्तकालय दिवस, २०७३ मूल समारोह समितिसमेत गठन गरिएको छ । समितिले आवश्यक कार्यक्रमको तयारी तथा पुस्तकालय विकासका लागि अन्तरक्रियात्मक कार्यक्रम गरिने जनाएको छ ।

शिक्षा मन्त्रालयअन्तर्गत पुस्तकालय समन्वय शाखाका उपसचिव एवम् सदस्यसचिव उपेन्द्रप्रसाद मैनालीले जिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा प्रत्येक जिल्लामा प्रजिअको प्रमुख आतिथ्यतामा जिविसले तोकेको एकजना सदस्य रहने गरी जिल्लास्तरीय पुस्तकालय दिवस मनाउन लागेको बताउनुभयो ।

देशभर निजी तथा सामुदायिक, विभिन्न विश्वविद्यालय तथा अन्य सङ्घसंस्थाको गरी देशभर करिब ४० हजार पुस्तकालय रहेको बताइएको छ । नेपालमा २०६४ साल भदौ १५ गतेदेखि यो दिवस मनाउन लागिएको हो ।

More News