सप्तरी, ९ भदौ । सप्तरी जिल्लामा स्वीकृति नलिई सञ्चालनमा रहेका २५० भन्दा बढी संस्थागत तथा निजी विद्यालयमाथि कारबाही गरिने भएको छ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीबाट अनुमति नलिई आफूखुसी सञ्चालनमा रहेका विद्यालयलाई पटकपटक कानुनको दायरामा आउन सूचना जारी भए पनि अटेर गरेकोले कारबाही गर्न लागिएको जिल्ला शिक्षा अधिकारी शङ्कर लुइँटेलले बताउनुभयो ।
कतिपय विद्यालयले अनुमति नलिएकोे सूचना प्राप्त भएपछि अनुगमन गर्दा सो कुरा पुष्ठी भएकाले गैरकानुनी रुपमा सञ्चालित विद्यालयलाई अविलम्ब विद्यालय बन्द गर्न सूचना जारी गरिएको छ ।
जारी सूचनालाई पनि बेवास्ता गरी विद्यालय सञ्चालन गरेमा शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०६९ अनुसार कारबाही अगाडि बढाइने भएको हो ।
गैरकानुनीरुपमा सञ्चालित विद्यालयले जारी सूचना बेवास्ता गरेमा भदौ १ गतेदेखि केही समय दिएर कारबाही प्रक्रिया अघि बढाइने शिक्षा अधिकारी लुइँटेलले जानकारी दिनुभयो ।
उक्त कार्यालयका पदाधिकारीको मिलोमतोमै निजी विद्यालय सञ्चालनमा रहेकाले विद्यालय बन्द गराउने सूचना नाटक मात्रै भएको आरोप स्थानीय बासिन्दाको छ ।