काठमाडौँ, ८ भदौ । राष्ट्रिय बाल दिवस मनाउन महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको अध्यक्षता रहने गरी तत्कालका लागि मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
"सम्वद्र्धन बालअधिकारकोः कार्यान्वयन संविधानको" भन्ने नाराका साथ यही भदौ २९ गते मनाइने बाल दिवसको मूल आयोजक समितिअन्तर्गत व्यवस्थापन समितिका संयोजक केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताललाई तोकिएको छ ।
संयोजक धितालका अनुसार देशभर बालअधिकारको सम्वद्र्धनका लागि विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइनेछ । बालअधिकारको संरक्षण तथा सम्वद्र्धनका लागि सरकारले "बालविवाह रोकथाम तथा न्यूनीकरण अभियान", "शारीरिक तथा मानसिक दण्ड सजाय रोकथाम तथा नियन्त्रण अभियान", "विद्यालय शान्ति क्षेत्र घोषणा सफल अभियान", "बालमैत्री स्थानीय निकाय घोषणा सफल अभियान", "बालबालिका बेचबिखन तथा ओसारपसार रोकथाम तथा नियन्त्रण अभियान", "बालश्रम निवारण तथा न्यूनीकरण अभियान", "सडक बालबालिकामुक्त सडक अभियान" र "जोखिमपूर्ण अवस्थामा रहेका बालबालिका उद्धार तथा संरक्षण अभियान" लगायतका अभियानलाई निरन्तरता दिँदै आएको छ ।