द्वन्द्वपीडित बालगृहलाई आर्थिक सहयोग

24 August 2016 Source: RSS News

सर्लाही, ८ भदौ । द्वन्द्वपीडित बालगृह भवन निर्माणका लागि बेलायतस्थित प्रवासी नेपालीको एक संस्थाले आर्थिक सहयोग प्रदान गरेको छ ।

चेतना सन्देश, नेपालद्वारा हरिवन नगरपालिका घुर्कौलीमा सञ्चालित श्रवण द्वन्द्वपीडित बालगृह भवन निर्माणका लागि बेलायतस्थित महिला फोरमले सङ्कलन गरेको रु दश लाख ८७ हजार सहयोग प्रदान गरेको हो ।

महिला फोरमका संयोजक सुुशीला राईले द्वन्द्वपीडित बालगृहका संरक्षक सुरेन्द्र लामालाई आज यहाँ एक समारोहबीच उक्त रकम बराबर सहयोग राशिको चेक हस्तानान्तरण गर्नुभयो ।

सो अबसरमा संयोजक राईले नेपाल र नेपालीको माया लाग्छ, त्यसमा पनि अझ सशस्त्र द्वन्द्वका बेला अभिभावक गुमाएका बालबालिकाको बढी माया लागेको छ, त्यसैले उनीहरुको आश्रयको रुपमा प्रयोग हुने भवन निर्माणका लागि सहयोग गरेको बताइन् ।

उनले भनिन्, ‘यो रकमको सदुपयोग भएमा अगामी दिनमा अझै सहयोग गर्ने वातावरण तयार हुन्छ ।’ स्थानीयस्तरको सहयोगमा सञ्चालनमा रहेको सो बालगृहमा सशस्त्र द्वन्द्वका बेला अभिभावक गुमाएका ३५ जना बालबालिकाले आश्रयस्थलको रुपमा प्रयोगगर्दै आएका छन् । वालगृहवाटै उनीहरुले विद्यालय तथा उच्च शिक्षा पनि हासिल गरिरहेको बालगृहका स्वयम्सेविका वेची लुगेलीले बताइन् ।

More News