काठमाडौँ, ७ भदौ । अस्थायी शिक्षकले आफ्ना मागको सुनुवाइ नभएको भन्दै आज मुलुकभरका शिक्षा कार्यालयमा धर्ना दिएका छन् ।
अस्थायी शिक्षक सङ्घर्ष समितिको आयोजनामा देशभरका शिक्षा कार्यालयमा एकघन्टे धर्ना कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष निरेन्द्र कुँवरले बताउनुभयो ।
लामो समयदेखि अस्थायी शिक्षकलाई प्रक्रिया पुर्याएर स्थायी गरिनुपर्ने माग राख्दै समितिले आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।
समितिले शिक्षा ऐन (आठौ संशोधन) मा भएको अस्थायी शिक्षकसम्बन्धी दफामा संशोधन गरी २०६३ सालकै शिक्षा ऐन लागू गर्नुपर्ने, अस्थायी, लियन र परियोजनाका शिक्षकको शतप्रतिशत अस्थायी सेवा अवधि स्थायी सेवा अवधिमा गणना गर्नुपर्ने, बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई प्रावि शिक्षकसरह तलब भत्ताको व्यवस्था गर्नुपर्नेलगायतका माग राख्दै आएको छ ।
समितिले शिक्षा ऐन २०६३ लागू भएपछि उमेर हदका कारण पेसाबाट अवकाश प्राप्त शिक्षक र सर्वोच्च अदालतको २०६६ सालको फैसलापछि कुनै पनि कारण अवकाशमा परेका अस्थायी शिक्षकलाई स्थायीसरह औषधोपचार खर्च र उपदानको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।
देशभर करिब ३० हजारको सङ्ख्यामा अस्थायी शिक्षक रहेको समितिले जनाएको छ ।