काठमाडौँ, ६ भदौ । ‘जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय’ भन्ने मूल नाराका साथ यस वर्ष नवौँ पुस्तकालय दिवस मनाउने भएको छ ।
भदौ १५ गते मनाइने सो दिवसका लागि शिक्षा सचिव डा डिल्लीराम रिमालको अध्यक्षतामा पुस्तकालय दिवस, २०७३ मूल समारोह समिति गठन गरिएको छ । समितिले आवश्यक कार्यक्रमको तयारी तथा पुस्तकालय विकासका लागि क्रियाशील रहने जनाएको छ ।
शिक्षा मन्त्रालयले जिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा प्रत्येक जिल्लामा प्रजिअको प्रमुख आतिथ्यतामा जिविसले तोकेको एकजना सदस्य रहने गरी जिल्लास्तरीय पुस्तकालय दिवस मनाउन परिपत्रसमेत जारी गरेको पुस्तकालय समन्वय शाखाका उपसचिव उपेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो ।
उहाँले पुस्तकालय तथा सूचना विज्ञान नीति २०५२ अनुसार अझै कार्य हुन नसकेकामा चिन्ता व्यक्त गर्दै सशक्तरुपमा देशभर पठन संस्कृतिको विकास गर्न पुस्तकालयको महत्व हुने बताउनुभयो ।
देशभर निजी तथा सामुदायिक गरी करिब ३६ हजार, विभिन्न विश्वविद्यालय तथा आङ्गिक एक हजार ६००, सामुदायिक तथा सार्वजनिक गरी एक हजार, वित्तीय सङ्घसंस्थाका एक हजार गरी करिब ४० हजार पुस्तकालय देशभर रहेका छन् ।