काठमाडौँ, ६ भदौ । नेपाल टेलिकमले ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिङ्कको पहुँच विस्तार गरेको छ ।
यही भदौ ४ गतेदेखि ७५ जिल्लामा माइक्रोवेभ रेडियो लिङ्क पहुँच पुऱ्याई सेवा उपलब्ध गराउन थालिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । त्यसअघि विशेषगरी कर्णाली अञ्चलका मुगु, हुम्ला र डोल्पाका सदरमुकाममा स्याटेलाइट प्रविधिमार्फत सेवा उपलब्ध गराइँदै आएकामा सेवा उपभोगका सन्दर्भमा विभिन्न कठिनाइको सामना गर्नुपर्ने स्थिति थियो ।
माइक्रोवेभ लिङ्क स्थापनापछि १७० एमविपिएसको लिङ्कमार्फत ल्यान्डलाइन, जिएसएम, सिडिएमएका टेलिफोन सेवा तथा एडिएसएल, टुजी र इभ्डो इन्टरनेट सेवाको तथ्याङ्क क्षमतामा उल्लेख्य सुधार हुने टेलिकमको जिकिर छ । साथै भविष्यमा थ्रिजी । वाइम्याक्स सेवा पनि सञ्चालन गर्न सकिनेछ । यसबाट विशेषगरी कर्णालीवासी उपभोक्ताले अधिकतम लाभ प्राप्त गर्ने अपेक्षा गरिएको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
टेलिकमका अनुसार विसं २०७३ भदौ ४ गते कम्पनीले ७५औँ जिल्लाका रुपमा हुम्लाको सिमीकोटमा सो प्रविधिमार्फत सेवा उपलब्ध गराउन थालिएको हो । यसअघि गत असार २१ गते डोल्पा र त्यसअघि मुगुमा माइक्रोवेभ रेडियो लिङ्कको पहुँच पुऱ्याइएको थियो ।
कम्पनीले धेरै पहिलेदेखि नै ७२ जिल्लामा माइक्रोवेभ रेडियो लिङ्क मार्फत सेवाको पहुँच पुऱ्याइरहेकामा भौगोलिक विकटता समेतका कारण उल्लिखित तीन जिल्लामा माइक्रोवेभ रेडियो लिङ्क मार्फत सेवा उपलब्ध गराउनु एउटा महत्वाकाङ्क्षी योजनाका रुपमा थियो । ती जिल्लामा माइक्रोवेभ रेडियो लिङ्कमार्फत सेवा उपलब्ध गराउने कार्यलाई सूचना प्रविधिको क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गाका रुपमा हेर्न सकिने प्रवक्ता वैद्यले बताउनुभयो ।