सल्यान, ६ भदौ । जिल्ला शिक्षा कार्यालय सल्यानले सामुदायिक विद्यालय गाभ्ने (मर्ज) अभियान सुरु गरेको छ ।
विद्यार्थी सङ्ख्या, दुई विद्यालयबीचको दूरी तथा शिक्षक अनुपातका आधारमा विद्यालय मर्ज गर्ने अभियान सुरु गरिएको जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ । कक्षा एक देखि तिन, एक देखि पाँच र एक देखि आठ सम्म सञ्चालित विद्यालयलाई गाभ्ने तयारी थालिएको हो ।
जिल्लाका विभिन्न गाविसमा रहेका १० देखि १२ विद्यालय गाभ्नुपर्ने अवस्था आएकाले यो अभियान सुरु गरिएको जिशिअ बर्खुप्रसाद रजकले बताउनुभयो ।
मर्जका लागि स्रोत व्यक्तिलाई परिचालन गरेर तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको छ, उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि कम विद्यार्थी सङ्ख्या भएका, दूरी कम भएका विद्यालयलाई गाभ्ने सरकारको नीतिअनुसार अभियान सुरु गरेका हौँ” ।