बाढीले बाटो बगाएपछि विद्यालय जान कठिनाइ

19 August 2016 Source: RSS News

जाजरकोट, ३ भदौ । विद्यालय जाने बाटो बाढीले बगाएपछि पूर्वी जाजरकोटको बारेकोट क्षेत्रका विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् ।

सक्ला, रोकायगाउँ र नायकवाडा गाविस जोड्ने दोबिल्ला बाटो छेडागाड खोलामा आएको बाढीले बगाएपछि उनीहरु विद्यालय जान नसकेका हुन् । बाढीले झन्डै एक किमी बाटो बगाइदिएपछि विद्यार्थीका साथै स्थानीय बासिन्दालाई आवतजावतमा निकै समस्या परेको छ ।

हिँड्ने बाटो नै नभएपछि विद्यालय जान नसकिएको वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्सामा ९ कक्षामा पढ्ने नायकवाडा - ६ का उषा शाहीले बताइन् । उनले आफूलगायत एक सय बढी विद्यार्थी बाटो नहुँदा पठनपाठनबाट वञ्चित भएको बताइन् ।

त्यस्तै १० कक्षामा अध्ययनरत सक्लाकी कमला कार्कीले पनि बाटो अवरुद्ध भएपछि एक हप्तादेखि विद्यालय जान नपाएको गुनासो गरिन् । बाढीले पूर्णरुपमा बाटोमा क्षति पुर्‍याएपनि केही विद्यार्थी र स्थानीय बासिन्दा जोखिम मोलेरै यात्रा गर्ने गरेको नायकवाडा - २ का भीमबहादुर सिंहले बताउनुभयो ।

विद्यालयका प्राचार्य गोरखबहादुर सिंहले विद्यालय आउन बीचमा खोला पर्ने भएकोले विद्यार्थीलाई निकै समस्या रहेको बताउनुभयो । केही दिनअघि खोलामा आएको बाढीले बाटोसमेत बिगारिदिएपछि धेरै विद्यार्थी विद्यालय आउन छोडेको प्राचार्य सिंहको भनाइ छ ।

More News