शान्तिपूर्ण वातावरणमा शिक्षण संस्था सञ्चालन हुनुपर्ने

15 August 2016 Source: RSS News

काठमाडौँ, ३१ साउन । निजी तथा आवासीय विद्यालय अर्जनाइजेसन (प्याब्सन) ले शिक्षण संस्थालाई शान्तिपूर्ण वातावरणमा सञ्चालन हुने अवस्था सिर्जना गरिदिन सबैलाई आग्रह गरेको छ ।

विभिन्न माग राखी अनेरास्ववियु (क्रान्तिकारी) ले आजदेखि गरेको देशव्यापी शैक्षिक हडतालले शिक्षा क्षेत्र र विद्यार्थीमाथि नकारात्मक असर पार्ने बताउँदै यस्ता कार्य बन्द गर्न प्याब्सनले आग्रह गरेको हो । प्याब्सनले विज्ञप्ति जारी गर्दै शान्ति, विकास र समृद्धिको संवाहक मानिएका बालबालिकालाई निर्बाध एवम् भयरहित वातावरणमा शिक्षा आर्जन गर्न पाउने नैसर्गिक तथा विश्वव्यापी अधिकारबाट वञ्चित गराई आफ्ना माग पूरा गर्न गराउन अपनाइने यस किसिमका क्रियाकलापले विद्यार्थी र शिक्षा क्षेत्र ठूलो असर पार्ने जनाइएको छ ।

वार्ता तथा संवादका माध्यमबाट समस्याको समाधानका लागि पहल गर्न राज्य र बन्दकर्ता सचेत हुनुपर्ने जनाउँदै शिक्षा, शिक्षालय र बालबालिकाजस्ता संवेदनशील क्षेत्रप्रति मानवीय संवेदना देखाई बन्द हडतालजस्ता क्रियाकलाप सधैँका लागि बन्द गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । सङ्गठनले निजी विद्यालयले शुल्कवृद्धि घटाउनुपर्ने, १० प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्ने लगायत माग राखी देशभरिका शैक्षिक संस्था बन्द गराएको छ ।

More News