ललितपुर, २६ साउन । दर्ता भएर पनि सञ्चालनमा नआएका २७ निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले बन्द गराउने भएको छ ।
कागजी रुपमा सञ्चालनमा देखिएपनि वास्तविक रुपमा सञ्चालन नभएका विद्यालयलाई बन्द गराउन लागिएको हो । जिल्ला शिक्षा अधिकारी दीलनाथ पुरीले भन्नुभयो, "कार्यालयले अनुसन्धान गर्दा अनुमति लिएर पनि सञ्चालनमा नआएकामा प्रावि, निमावि र मावि तीनै तहका विद्यालय छन् ।"
पहिले अनुमति लिएका सञ्चालकले पछि कुनै दिन सञ्चालन गर्ने वा बेच्ने उद्देश्यले विद्यालय 'होल्ड' गरिरहेका हुन् । कार्यालयले गत मङ्सिरबाट स्रोत व्यक्ति परिचालन गरेर अनुगमन सुरु गरेको थियो । शिक्षा विभागले जिल्ला शिक्षा कार्यालयलाई गत असारभित्रै विद्यार्थी सङ्ख्या शून्य भएका विद्यालय बन्द गराउन निर्देशन दिएको थियो ।
कारबाहीको सिफारिसमा परेका २७ विद्यालयमध्ये सात वटाले नियमित रुपमा सञ्चालनमा रहेको दाबी गरेका छन् । "सरोकारवालासँगको छलफलपछि आगामी भदौ १ गते ती विद्यालयको नाम सार्वजनिक हुनेछ" - उहाँले भन्नुभयो, "प्याब्सन, एनप्याब्सनलगायत सरोकारवालासँग अझै एक चरण छलफल हुनेछ ।"
विद्यालयले नियमित रुपमा विवरण बुझाए - नबुझाएको, कर चुक्ता भए - नभएको, व्यवस्थापन समितिको गठन भए - नभएको, जिल्लास्तरीय वा प्रवेशिका परीक्षामा सहभागी भए - नभएको हेरेर त्यसका आधारमा विद्यालय सञ्चालन भएको वा नभएको भन्ने पत्ता लगाइएको कार्यालयले जनाएको छ ।