विद्यालय बगाएपछि खुला आकासमा पढाइ

09 August 2016 Source: RSS News

जाजरकोट, २५ साउन । यहाँको लहँ ४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी खुला आकासमा पढाइ गर्न बाध्य छन् ।

गत असार दोस्रो साता आएको बाढी पहिरोले विद्यालय भवन बगाउँदा विद्यार्थी खुला आकासमा पढ्न बाध्य भएका हुन्।

बाढीले विद्यालयका दुई भवन, चर्पी, खानेपानी ट्याङ्की बगाएपछि खुला आकासमा पढाउनु परेको प्रधानाध्यापक बलबहादुर रावलले बताउनुभयो ।

बाढीले विद्यालय क्षेत्र बगरमा परिणत भएको छ । यही बगरमा विद्यार्थीलाई राखेर पढाउन बाध्य छौँ, उहाँले भन्नुभयो । पानी पर्दा र चर्को घाम लागेपनि पढाइ बन्द गर्नुपर्ने बाध्यताबीच फेरि बाढीपहिरो आउने हो कि भन्ने डर पनि लागिरहन्छ, उहाँले उल्लेख गर्नुभयो ।

“पठनपाठन सञ्चालन गर्नका लागि अन्यत्र ठाउँ पनि छैन । यस बगरमा टहरो बनाउन पनि सकिएको छैन । विद्यालयमा न चर्पी छ, नत खानेपानीको व्यवस्था छ,” उहाँले भन्नुभयो । बाढीले विद्यालयको सम्पूर्ण भौतिक संरचनाको नाम निसाना नै राखेन, रावलले भन्नुभयो ।

विद्यालयमा बस्ने ठाउँ नहँुदा विद्यार्थी विद्यालय आउन छाडेका छन् । पहिरोको जोखिम भएकाले बालबालिकालाई विद्यालय पठाउन छाडेको अभिभावक तिलबहादुर रावलले बताउनुभयो ।

विद्यालय भवन नहुँदा पिपलचौरका छ दर्जन विद्यार्थी पठनपाठनबाट वञ्चित भएकोे उहाँले उल्लेख गर्नुभयो । ५ कक्षासम्मको पढाइ सञ्चालन हुने विद्यालयका बालबालिका बगरको चिसो बालुवा र माटोमा बसेर पढाइ गर्दा बिरामी पर्ने गरेको प्रधानाध्यापक रावलले बताउनुभयो ।

बाढीले बगाएको विद्यालय निर्माणका लागि जिल्ला शिक्षा कार्यालय, अन्य सङ्घ संस्थालगायतमा अनुरोध गर्दा पनि कतैबाट पनि सहयोग नभएको उहाँले गुनासो गर्नुभयो ।

स्थानीय गुर्से खोलामा आएको बाढीेले पिपलचौर गाउँका २६ घरपरिवार पहिरोको जोखिममा परेका छन् । लहँ गाविस भवन जोड्ने सडक र नलसिंहगाड पहुँच सडक खन्दा जथाभावी फालेको माटोका कारण बाढी पहिरो आएको प्रधानाध्यापक रावलले बताउनुभयो ।

बाढीले विद्यालय भवन बगाएर रु ७० लाखको क्षति पु¥याएको प्रधानाध्यापक रावलले उल्लेख गर्नुभयो ।

More News